भवानी राणाको स्वरमा ‘शिव ताण्डव’ भजन सार्वजनिक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको स्वरमा नयाँ भजन ‘शिव ताण्डव’ सार्वजनिक भएको छ। धार्मिक भावनासँगै वर्तमान परिस्थितिमा आशा र शान्तिको सन्देश दिने उद्देश्यले भजन तयार गरिएको राणाले बताएकी छन्।
राणासँगै सरस्वती खत्रीको स्वर रहेको भजनमा सुरसुधा सुरेन्द्रले संगीत संयोजन गरेका छन्। राणाले यो सांगीतिक प्रस्तुतिलाई भगवान् शिवप्रति समर्पित आफ्नो श्रद्धा र प्रार्थनाका रूपमा व्याख्या गरेकी छन्।
उनका अनुसार ‘शिव ताण्डव’ केवल गीत वा सांगीतिक प्रस्तुति नभई भगवान् शिवप्रतिको समर्पण हो। नेपालले पछिल्लो समय भोगिरहेको कठिन परिस्थितिबीच यसले आशा, शक्ति र शान्तिको भाव प्रवाह गरोस् भन्ने उद्देश्य रहेको उनले बताइन्।
भजनको भिडियो निर्देशन विकासाले गरेका छन् भने चक्रबहादुर चन्दले समन्वय गरेका छन्। भिडियो सम्पादन शिलन लम्सालले गरेका हुन्।
भिडियोमा भवानी राणा र सरस्वती खत्री स्वयंले अभिनय गरेका छन्। धार्मिक विषयवस्तुलाई सांगीतिक र दृश्य प्रस्तुतिसँग जोडेर तयार गरिएको ‘शिव ताण्डव’ हाल सार्वजनिक भइसकेको छ।
