आँखाले नदेखे पनि प्रकृति महसुस गर्दै नेपालमा ७१ वर्षीया पर्यटकको पदयात्रा
काठमाडौं । हिमाल देख्न आँखै चाहिन्छ भन्ने सामान्य बुझाइलाई चुनौती दिँदै ७१ वर्षीया इजरायली नागरिक मार्गालिट शाचारले नेपालका हिमाली पदमार्गमा आफ्नो अनुभव बटुलेकी छन्। पूर्ण दृष्टिविहीन शाचारका लागि अन्नपूर्ण क्षेत्रको पदयात्रा केवल पर्यटकीय यात्रा रहेन, प्रकृतिसँग जोडिने र आफूलाई पुनः ऊर्जावान् बनाउने माध्यम बन्यो।
नेपाल पर्यटन बोर्डमा आयोजित अनुभव आदानप्रदान कार्यक्रममा उनले नेपालको प्रकृतिले आफूलाई मानसिक रूपमा हलुका र सकारात्मक महसुस गराएको बताइन्।
“नेपालमा पदयात्रा मेरा लागि साहसिक यात्रा मात्र रहेन, यो आफैंमा एउटा थेरापीजस्तो भयो,” उनले भनिन्।
जन्मदिन मनाउने अनौठो शैली
मनोवैज्ञानिक थेरापिस्टका रूपमा लामो समय काम गरेकी शाचारले आफ्नो ७०औँ जन्मदिन पनि नेपालमै पदयात्रा गरेर मनाएकी थिइन्। गत वर्ष उनले अन्नपूर्ण सर्किट पूरा गरेकी थिइन् भने यसपटक अन्नपूर्ण आधार शिविर (एबीसी)सम्मको यात्रा गरेकी हुन्।
उनका लागि जन्मदिन केवल उत्सव मनाउने दिन होइन, नयाँ अनुभव हासिल गर्ने अवसर पनि हो।
“७० वर्ष विशेष उमेर हो। त्यसैले जन्मदिनलाई ट्रेकिङसँग जोड्नु मेरा लागि उत्सवजस्तै थियो,” उनले अनुभव सुनाइन्।
अन्नपूर्ण आधार शिविरको यात्रा कतिपय अवस्थामा चुनौतीपूर्ण भए पनि त्यसले आफूलाई डरभन्दा बढी उत्साह दिएको उनको भनाइ छ।
आँखाभन्दा बाहिरको प्रकृति
दृष्टिविहीन भएकाले पहाड, हिमाल वा बाटो आँखाले हेर्न नसके पनि प्रकृतिलाई अर्को तरिकाले अनुभव गर्न सकिने शाचार बताउँछिन्।
पदयात्राका क्रममा नदीको आवाज, हावाको स्पर्श, बाँसको सुगन्ध र वरपरका प्राकृतिक ध्वनिले आफूलाई प्रकृतिसँग जोडेको उनले बताइन्।
“म देख्दिनँ, तर प्रकृतिलाई महसुस गर्न सक्छु। नदीको आवाज, हावाको स्पर्श र विभिन्न सुगन्धले यात्रालाई विशेष बनायो,” उनले भनिन्।
अन्नपूर्णको पदयात्रा आफूले अपेक्षा गरेभन्दा कठिन भए पनि हरेक पाइला सावधानीपूर्वक अघि बढाउँदै यात्रा पूरा गरेको उनले बताइन्।
‘नेपालले मलाई हलुका बनायो’
शाचारका लागि नेपालको पदयात्राको अर्को विशेष पक्ष मानसिक शान्ति हो। नेपालमा केही समय बिताउँदा आफूलाई तनावबाट मुक्त र हलुका महसुस भएको उनले बताइन्।
उनको अनुभवमा पदयात्रा शारीरिक गतिविधि मात्र होइन, प्रकृति र मानिससँगको सम्बन्ध स्थापित गर्ने अवसर पनि हो।
नेपालीहरूको आत्मीय व्यवहारले यात्रालाई थप सहज बनाएको उल्लेख गर्दै उनले स्थानीय संस्कृति, खाना र अतिथिगृहको अनुभवसमेत प्रशंसा गरिन्।
“नेपालीहरूको सहयोग र आत्मीयताले मलाई यात्रामा विशेष सम्मान पाएको अनुभूति भयो,” उनले भनिन्।
अर्को वर्ष लाङटाङको योजना
नेपालको हिमाली यात्रा यतिमै रोक्ने उनको योजना छैन। आगामी वर्ष छोरीको ५०औँ जन्मदिन मनाउन नेपाल आउने र त्यस अवसरमा लाङटाङ पदयात्रा गर्ने योजना उनले सुनाइन्।
उनका लागि नेपाल अब एकपटक घुमेर फर्किने गन्तव्यभन्दा पनि पटक–पटक फर्कन मन लाग्ने ठाउँ बनेको छ।
“आफ्नो जीवन आफूले सकेसम्म पूर्ण रूपमा बाँच्नुपर्छ,” उनले भनिन्, “नेपाल सुन्दर गन्तव्य हो र यहाँको प्रकृतिले सकारात्मक ऊर्जा दिन्छ।”
समावेशी पर्यटनको सम्भावना
शाचारको यात्राले नेपालको पर्यटनमा अपाङ्गता भएका व्यक्तिका लागि पनि पदयात्रा र प्रकृति पर्यटनको सम्भावना देखाएको छ।
नेपालस्थित इजरायली दूतावासकी चार्ज डे अफेयर्स जनान मिशलेब–बेबारले शाचारको यात्राले प्रकृति आँखाले मात्र नभई अन्य इन्द्रियबाट पनि अनुभव गर्न सकिने सन्देश दिएको बताइन्।
उनका अनुसार यस्तो यात्राले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिलाई पनि साहसका साथ विश्व भ्रमण गर्न प्रेरित गर्न सक्छ।
नेपाल नेत्रहीन संघका समावेशी सल्लाहकार खोमराज शर्माले शाचारको अनुभव अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणादायी भएको बताए।
सहज पूर्वाधार र प्रशिक्षित जनशक्ति आवश्यक
दृष्टिविहीन पर्यटकलाई पदयात्रामा साथ दिनु चुनौतीपूर्ण भए पनि उचित तयारी, तालिम र आपसी समझदारीबाट सम्भव रहेको ट्रेकिङ गाइड शिवप्रसाद अधिकारी बताउँछन्।
सन् २००३ देखि ट्रेकिङ गाइडका रूपमा काम गरिरहेका अधिकारीका अनुसार अपाङ्गता भएका पर्यटकका लागि सुरक्षित पदमार्ग, सूचना, आवास, यातायात र प्रशिक्षित गाइडको व्यवस्था विस्तार गर्न सके नेपालको पर्यटन थप समावेशी बन्न सक्छ।
शाचारको अन्नपूर्ण यात्राले एउटा फरक सम्भावना पनि देखाएको छ—नेपालको हिमाल आँखाले मात्र हेर्ने गन्तव्य होइन, आवाज, स्पर्श, गन्ध र अनुभूतिबाट पनि अनुभव गर्न सकिने प्रकृतिको संसार हो।
