पोखरामा अन्तर्राष्ट्रिय उडान फर्कियो, फ्लाई दुबईको आगमनले जगायो नयाँ उत्साह
पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब तीन वर्षपछि बुधबार पुनः नियमित प्रकृतिको अन्तर्राष्ट्रिय व्यावसायिक उडान अवतरण गरेको छ। दुबईबाट फ्लाई दुबईको विमान पोखरा आएपछि लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेका पर्यटन व्यवसायी तथा स्थानीयमा उत्साह थपिएको छ।
फ्लाई दुबईको विमान पोखरा विमानस्थलमा अवतरण गरेपछि स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाले यात्रु र चालक दललाई स्वागत गरेका थिए।
विमानका पाइलट सर्वजित यादवले पोखरा विमानस्थलमा पहिलोपटक अवतरण गर्न पाउँदा खुसी लागेको बताए। उनका अनुसार उडान सहज रूपमा सम्पन्न भएको थियो र विमानस्थलको पूर्वाधार पनि राम्रो लागेको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। यसअघि हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म उडान गरे पनि पर्याप्त यात्रु नपाएपछि सेवा रोकिएको थियो।
त्यसयता पोखराबाट अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा भइरहेको थियो। फ्लाई दुबईको आगमनले उक्त प्रतीक्षामा केही हदसम्म विराम लगाएको पर्यटन व्यवसायीहरूले बताएका छन्।
पर्यटन क्षेत्रमा पछिल्लो समय देखिएको चुनौतीका बीच पोखराबाट अन्तर्राष्ट्रिय हवाई सेवा सुरु हुनु सकारात्मक संकेत भएको व्यवसायीहरूको भनाइ छ। उनीहरूले यसले पोखरालाई विदेशी पर्यटकसँग प्रत्यक्ष रूपमा जोड्न सहयोग पुग्ने अपेक्षा गरेका छन्।
तर उडानलाई नियमित र दीर्घकालीन बनाउन पर्याप्त यात्रु सुनिश्चित गर्नुपर्ने चुनौती भने कायमै छ। व्यवसायीहरूकै अनुसार यात्रु संख्या पर्याप्त हुन नसके अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन कठिन हुन सक्छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भए पनि नियमितता कायम गर्न नसकेको अनुभवले पनि पोखरालाई यात्रु व्यवस्थापनमा ध्यान दिनुपर्ने देखाएको छ।
यात्रुलाई काठमाडौंको विकल्प
फ्लाई दुबईको उडानले विदेश जाने र विदेशबाट नेपाल फर्किने यात्रुलाई पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्ने विकल्प दिएको छ।
कास्कीको रूपा गाउँपालिका–३ की रेजिना कुमाल बेलायत अध्ययनका लागि जाँदै थिइन्। दुबई हुँदै बेलायत जाने क्रममा उनले पोखराबाटै यात्रा सुरु गर्न पाउँदा सहज भएको बताइन्।
त्यस्तै, पाल्पाका पोमनारायण श्रेष्ठ पाँच वर्ष दुबई बसेपछि दसैं–तिहार मनाउन नेपाल फर्किएका थिए। काठमाडौंमा ओर्लिनुभन्दा पोखरामा ओर्लिएर पाल्पा जान सहज हुने भएकाले उनले पोखराको उडान रोजेका थिए। उडान सञ्चालन हुने जानकारी पाएपछि उनले करिब दुई महिनाअघि नै टिकट बुक गरेका थिए।
पाल्पाकी तारा सिंजाली मगरले पनि पाँच वर्ष दुबई बसेपछि पहिलोपटक पोखरा अवतरण गरिन्। आफ्नो घर पुग्न काठमाडौंभन्दा पोखराबाट सहज हुने भएकाले उनले पनि उडान सुरु हुनेबित्तिकै टिकट लिएको बताइन्।
कलाकारका लागि पनि विशेष क्षण
लोकप्रिय सांगीतिक ब्यान्ड ‘कन्दरा’का गायक विवेक श्रेष्ठका लागि पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु यात्राको सुविधाभन्दा भावनात्मक विषय थियो। पोखराका स्थायी बासिन्दा श्रेष्ठले यसलाई लामो समयदेखिको सपना पूरा भएको क्षणका रूपमा लिए।
उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपछि विदेश जाने यात्रुका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता घट्ने र पर्यटनका लागि नयाँ सम्भावना खुल्ने बताए। बुधबारको उडानमा सहभागी हुन उनले आफ्नो अर्को अन्तर्राष्ट्रिय यात्रा रद्द गरेको जानकारी दिए।
कन्दराकै संगीतकार सुनिल थापाले पनि पोखराबाटै अन्तर्राष्ट्रिय उडान चढेर घरनजिकै ओर्लिने सपना पूरा भएको बताए। दुबईमा लामो ट्रान्जिट भए पनि पोखरामा अवतरण गर्न पाउँदा आफूहरू निकै उत्साहित भएको उनको भनाइ थियो।
२५० भन्दा बढी गन्तव्यसँग जोडिने अपेक्षा
पोखरा–दुबई उडानका लागि लामो समयदेखि पहल गर्दै आएका पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले फ्लाई दुबईको सेवाबाट पोखरा विश्वका २५० भन्दा बढी गन्तव्यसँग हवाई सञ्जालमा जोडिएको बताए।
उनका अनुसार दुबईलाई ट्रान्जिट बनाएर पोखराबाट विश्वका विभिन्न मुलुकमा पुग्न सकिनेछ। त्यस्तै, विभिन्न देशबाट पर्यटकलाई पोखरा ल्याउन पनि यो हवाई सम्पर्क उपयोगी हुने अपेक्षा गरिएको छ।
उनले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सम्भव छैन भन्ने धारणा पनि यस उडानले बदल्न सहयोग गरेको बताए। बुधबार पोखराबाट दुबई जाने विमानमा समेत यात्रु संख्या उत्साहजनक रहेको उनको भनाइ थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता एवं उपनिर्देशक जशोदा रेग्मीले फ्लाई दुबईको उडानसँगै पोखरा र संयुक्त अरब इमिरेट्सबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएको बताइन्।
उनका अनुसार यसले यात्रु आवागमन सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आगामी दिनमा विमानस्थलबाट अन्तर्राष्ट्रिय सेवा नियमित तथा दिगो बनाउन सबै सरोकारवाला निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उनले बताइन्।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि अन्तर्राष्ट्रिय उडानका विषयमा लामो समयदेखि रहेको अन्योल हटेको बताए। उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु हुनु खुसीको विषय भएको प्रतिक्रिया दिए।
