लगातारको वर्षाले पहाडी भूभागमा पहिरोको जोखिम बढ्यो
काठमाडौं । देशका अधिकांश भूभागमा पछिल्ला दिनदेखि वर्षा भइरहेको छ। मनसुनी प्रणालीसँगै पश्चिमी वायुको प्रभाव र बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण विभिन्न क्षेत्रमा हल्कादेखि भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही स्थानमा भने भारी वर्षासमेत रेकर्ड गरिएको छ।
लुम्बिनी प्रदेशका पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपासका क्षेत्रमा पछिल्लो २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। पाल्पाका केही वर्षामापन केन्द्रमा १६० मिलिमिटरभन्दा बढी पानी परिसकेको जनाइएको छ।
कर्णाली र सुदूरपश्चिमका तुलनात्मक रूपमा सीमित क्षेत्रमा मात्रै हल्कादेखि मध्यम वर्षा भएको छ। पूर्वी तथा मध्य नेपालका धेरैजसो भूभागमा भने बदलीसँगै वर्षा हुने क्रम जारी रहेको मौसमविद्को भनाइ छ।
बंगालको खाडीबाट आएको प्रणालीको प्रभाव
नेपालमा अहिले भइरहेको वर्षाको प्रमुख कारण भारतको ओडिसा, विशाखापट्टनम र आन्ध्र प्रदेश आसपास विकसित भएको न्यून चापीय प्रणाली रहेको मौसमविद् लामिछानेले बताएका छन्।
उक्त प्रणाली तटीय क्षेत्र पार गर्दै जमिनतर्फ प्रवेश गरेपछि बंगालको खाडीबाट ठूलो मात्रामा जलवाष्पयुक्त हावा नेपालतर्फ आएको हो। पश्चिमी नेपालमा पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले यी दुई प्रणालीको संयुक्त प्रभावले वर्षाको गतिविधि बढेको मौसमविद्को भनाइ छ।
न्यून चापीय प्रणाली उत्तर तथा उत्तर–पश्चिम दिशातर्फ सर्दै रहेकाले आगामी केही दिनसम्म यसको प्रभाव नेपालमा रहने सम्भावना छ।
कुन प्रदेशमा कहिलेसम्म वर्षा ?
मौसमविद्का अनुसार असोज ८ र ९ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा केही ठाउँमा भारी वर्षाको सम्भावना छ। शुक्रबारसम्म वर्षाको प्रभाव कर्णाली र सुदूरपश्चिमसम्म विस्तार हुन सक्ने अनुमान गरिएको छ।
असोज १० गतेदेखि पूर्वी नेपालमा वर्षाको गतिविधि क्रमशः कम हुँदै जानेछ। त्यसको तुलनामा कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका पश्चिमी भूभागमा वर्षाको प्रभाव बढ्न सक्नेछ।
असोज ११ गतेपछि भने मौसमी प्रणाली कमजोर बन्दै जाने र देशभर वर्षाको गतिविधि क्रमशः घट्ने अनुमान गरिएको छ।
पहाडी क्षेत्रमा पहिरोको जोखिम
लगातार दुईदेखि तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले पहाडी तथा भिरालो भूभागमा पहिरोको जोखिम बढेको छ। कमजोर भौगर्भिक संरचना भएका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
त्यसैगरी खोला तथा नदी किनारमा बसोबास गर्नेहरूलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ। लगातारको वर्षाले नदी तथा खोलाको जलस्तर बढ्न सक्ने भएकाले बाढीसम्बन्धी पूर्वसूचना र स्थानीय प्रशासनको जानकारीलाई बेवास्ता नगर्न सुझाव दिइएको छ।
पर्यटकलाई पनि सावधानी अपनाउन आग्रह
अहिले पर्यटकीय गतिविधि बढ्ने समय भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने पर्यटकलाई पनि मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।
मौसम प्रतिकूल भएको अवस्थामा पदयात्रा वा अन्य जोखिमपूर्ण गतिविधि नगरी सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासन तथा मौसमसम्बन्धी आधिकारिक सूचनालाई प्राथमिकता दिन सुझाव दिइएको छ।
