वर्षाका कारण पोखरा विमानस्थलको उडान प्रभावित, फ्लाइ दुबईको सेवा रद्द
पोखरा । लगातारको वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण शुक्रबार फ्लाइ दुबईको दुबई–पोखरा–दुबई उडानसमेत रद्द भएको विमानस्थलले जनाएको छ।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार मौसम खराब भएपछि फ्लाइ दुबईले उडान रद्द हुनेबारे पहिले नै जानकारी गराएको थियो। आन्तरिकतर्फ पनि दिनभर नियमित उडान सञ्चालन हुन नसकेको उनले बताए।
उनका अनुसार साँझतिर बुद्ध एयरका तीनवटा उडान भने सञ्चालन भएका थिए। लगातार दुई दिन उत्साहजनक रूपमा सेवा सञ्चालन गरेको फ्लाइ दुबईको शुक्रबारको उडानमा भने मौसम बाधक बनेको हो।
फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने तालिका बनाएको छ। तालिकाअनुसार विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्ने व्यवस्था छ।
यसअघि बिहीबार फ्लाइ दुबईको दुबई–पोखरा उडानमार्फत १२२ यात्रु पोखरा आएका थिए। सोही उडानबाट पोखराबाट १४३ यात्रु दुबई गएका थिए।
फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो। कम्पनीले १६५ यात्रु क्षमताको विमान प्रयोग गर्दै दुबई–पोखरा–दुबई सेवा सञ्चालन गरिरहेको छ।
तर, नियमित अन्तर्राष्ट्रिय सेवा सुरु भएको केही दिनमै प्रतिकूल मौसमका कारण शुक्रबारको उडान प्रभावित भएको हो। निरन्तरको वर्षाले पोखराबाट हुने आन्तरिक उडानमा समेत असर पारेको विमानस्थल प्रशासनले जनाएको छ।
