तराईका चार प्रदेशमा हावाहुरीको प्रभाव, रातिसम्म तीव्र हावा चल्न सक्ने
काठमाडौं— मधेशदेखि लुम्बिनी प्रदेशसम्मका तराई क्षेत्रमा तीव्र गतिमा हावाहुरी चलेको छ। भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण पनि ती क्षेत्रमा हावाको गति बढिरहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको सूचनाअनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा सामान्यभन्दा बलियो हावा चलिरहेको छ। रातिको समयमा पनि यी क्षेत्रमा तीव्र हावाको सम्भावना रहेको जनाइएको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार हाल मधेशदेखि लुम्बिनीसम्मका तराई क्षेत्रमा हावाको गति उल्लेख्य रूपमा बढेको छ। भैरहवामा केही समयअघिको मापनअनुसार हावाको गति प्रतिघण्टा ६० किलोमिटरसम्म पुगेको थियो।
उनका अनुसार मधेश र लुम्बिनीमा हावाको प्रभाव तुलनात्मक रूपमा बढी देखिएको छ। काठमाडौं उपत्यका आसपास तथा कास्कीलगायत पहाडी क्षेत्रमा पनि सामान्यभन्दा केही बढी हावा चलिरहेको छ। यता कोशी, कर्णाली र सुदूरपश्चिममा भने तत्काल हावाको गति तुलनात्मक रूपमा कम रहेको छ।
भारतमा रहेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्दै गएसँगै यसको प्रभाव नेपालको पश्चिमी भूभागतर्फ थप विस्तार हुन सक्ने अधिकारीले बताए। त्यसका कारण आइतबार सुदूरपश्चिममा समेत हावाको गति बढ्ने सम्भावना रहेको छ।
न्यूनचापीय प्रणालीका कारण हावाहुरीसँगै वर्षाको गतिविधि पनि बढ्ने मौसमविद्हरूको भनाइ छ। यस्तो प्रणालीले वरपरको जलवाष्पयुक्त हावालाई एकत्रित गराउने भएकाले हावाको गति बढ्नुका साथै वर्षाका लागि अनुकूल अवस्था बन्ने अधिकारीले बताए।
महाशाखाको पछिल्लो १२ घण्टाको विवरणअनुसार सुदूरपश्चिमका केही क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। कञ्चनपुरको दोधारामा ६४.६ मिलिमिटर, सुन्दरपुरमा ५६.६ मिलिमिटर र हनुमाननगरमा ५१.४ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै डडेलधुराको अमरगढी आसपास ६६ मिलिमिटर र गाइबन्देमा ६१ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
पूर्वी नेपालमा भने मौसमको अवस्था तुलनात्मक रूपमा सामान्य रहेको छ। पूर्वी क्षेत्रमा मौसम सुधार हुने क्रम सुरु भइसकेको मौसमविद् अधिकारीले बताएका छन्।
