लगातार वर्षाले मलेखु–मुग्लिन सडकमा क्षति, १० स्थानमा पहिरो
काठमाडौं — लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिन खण्डमा पहिरो खस्नुका साथै सडकका विभिन्न भागमा क्षति पुगेको छ। सडक योजना कार्यालयका अनुसार करिब १० स्थानमा पहिरो तथा सडक भासिने समस्या देखिएको छ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का अनुसार शीलतबजार, गोमती खोला, कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर, हुग्दी खोला–जवाङ खोला, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारामा पहिरो तथा सडकमा क्षति पुगेको हो।
कृष्णभीरमा लेदोसहितको पहिरो सडकमा खसेपछि दुवैतर्फको आवागमन रोकिएको छ। सडकको तल्लो भागमा भने ठूलो क्षति नभएको र जोखिमयुक्त क्षेत्रमा प्लास्टिक ओढाएर तत्कालका लागि संरक्षण गरिएको छ।
ज्यामिरेघाट–चौकीभीर, घोप्टेभीर तथा सिमलधारामा पनि पहिरो खसेपछि सडक दुवैतर्फबाट बन्द भएको जनाइएको छ।
फिस्लिङ क्षेत्रमा मात्रै तीन ठाउँमा पहिरो खसेको छ। ती स्थानमा ढुंगा, रुख तथा लेदोसहितको पहिरोले २०० मिटरभन्दा बढी सडक ढाकेको छ। सडकको केही भाग करिब ३० मिटर क्षेत्रमा चर्किएर दबिएको समेत पाइएको छ।
धारापानीमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ। अन्य केही ठाउँमा भने सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको भए पनि निरन्तरको वर्षाका कारण जोखिम कायमै रहेको सडक योजनाले जनाएको छ।
वर्षा रोकिएपछि प्रभावित स्थानमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
तर, आइतबार पनि मलेखु–मुग्लिन सडक खण्ड पूर्ण रूपमा सहज नहुने सम्भावना रहेकाले तत्काल उक्त मार्ग भएर यात्रा नगर्न सम्बन्धित निकायले आग्रह गरेको छ।
