फूलखेतीमा सुशीलाको सफलता, वार्षिक ५० लाख कारोबार र २० लाख बचत
धनगढी । धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी गर्न सफल भएकी छन् । तीन वर्षअघि स्थानीय तहबाट फूलखेतीसम्बन्धी तालिम लिएर सुरु गरेको व्यवसाय अहिले उनको मुख्य आम्दानीको स्रोत बनेको छ ।
‘न्यू बण्डोली नर्सरी कन्र्सन फार्म’ सञ्चालन गर्दै आएकी विष्टले सुरुमा ५ लाख रुपैयाँ लगानी गरेकी थिइन् । अहिले उनको फूलखेती व्यवसायमा करिब ५० लाख रुपैयाँ लगानी पुगेको छ ।
उनले दुई बिघा जमिन लिजमा लिएर विभिन्न जातका फूल उत्पादन गर्दै आएकी छन् । उनका अनुसार व्यवसायबाट वार्षिक करिब ५० लाख रुपैयाँको कारोबार हुन्छ । सबै खर्च कटाएपछि करिब २० लाख रुपैयाँ बचत हुने गरेको छ ।
फूलको उत्पादन, गोडमेल, हेरचाह तथा अन्य काममा ११ जना स्थानीयले रोजगारीसमेत पाएका छन् । उनीहरूको पारिश्रमिकमा मात्रै मासिक करिब १ लाख ८० हजार रुपैयाँ खर्च हुने गरेको विष्टले बताइन् ।
‘परिवारको सम्पूर्ण खर्च यही व्यवसायबाट व्यवस्थापन गर्दै आएकी छु,’ उनले भनिन्, ‘फूलखेतीबाट आम्दानी बढेपछि आर्थिक अवस्था पनि सुधार भएको छ र आत्मनिर्भर बन्न सकेकी छु।’
विष्टले प्रतिकिलो करिब ४ सय रुपैयाँमा फूल बिक्री गर्दै आएकी छन् । उनको उत्पादन कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका नौवटै जिल्लामा पुग्ने गरेको छ । मागअनुसार काठमाडौंसम्म पनि फूल पठाउने गरिएको उनले जानकारी दिइन् ।
धनगढी उपमहानगरपालिकाको परिसरमा बिक्री केन्द्र सञ्चालन गरेर उनले फूलसँगै माला, बुके, गुच्छालगायत सजावटका सामग्री पनि बिक्री गर्दै आएकी छन् ।
उनको फार्ममा सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धा, जीप्सफिला र ग्याडुलमलगायत विभिन्न प्रजातिका फूल उत्पादन भइरहेका छन् । फूलका साथै विभिन्न जातका बेर्ना उत्पादन गरेर बिक्री गर्ने काम पनि उनले गर्दै आएकी छन् ।
धनगढी क्षेत्रमा पछिल्लो समय फूल तथा सजावटका सामग्रीको माग बढ्दै गएको विष्टको अनुभव छ । विवाह, व्रतबन्ध, औपचारिक कार्यक्रम, धार्मिक तथा सांस्कृतिक पर्व, विद्यालयका कार्यक्रम र अन्य शुभकार्यमा उनका उत्पादन प्रयोग हुने गरेका छन् ।
विष्टको व्यावसायिक फूलखेती स्थानीयस्तरमै कृषि उद्यम गर्न चाहनेहरूका लागि उदाहरणसमेत बनेको छ ।
– रासस
