तीन महिनाभन्दा लामो अवरोधपछि सुकेटारबाट फेरि नियमित उडान
ताप्लेजुङ । ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा करिब साढे तीन महिनापछि हवाई सेवा पुनः सञ्चालनमा आएको छ।
मौसम प्रतिकूलतासहितका कारण जेठ २२ गतेदेखि रोकिएको उडान नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत सोमबारबाट नियमित रूपमा सुरु भएको हो।
सोमबार काठमाडौंहुदै सुकेटार आएको जहाजमा १३ जना यात्रु थिए भने सुकेटारबाट पाँच यात्रुलाई लिएर जहाज काठमाडौं फर्किएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिए।
यसअघि सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको सुकेटारमा असोज १५ गतेदेखि नयाँ तालिकाअनुसार सोमबार, बिहीबार र शनिबार उडान हुने जनाइएको छ।
काठमाडौं–ताप्लेजुङतर्फको हवाई भाडा १२ हजार २७० रुपैयाँ र ताप्लेजुङ–काठमाडौंको भाडा १२ हजार ७० रुपैयाँ तोकिएको छ।
पर्यटकीय सम्भावनाका हिसाबले महत्त्वपूर्ण ताप्लेजुङमा नियमित हवाई सेवा सञ्चालनमा भने लामो समयदेखि चुनौती देखिँदै आएको छ। जहाजको उपलब्धता, प्राविधिक समस्या तथा कतिपय अवस्थामा यात्रु पर्याप्त नहुँदा उडान प्रभावित हुने गरेको बताइएको छ।
हवाई सेवा नियमित नहुँदा विमानमार्फत यात्रा गर्ने स्थानीय तथा ताप्लेजुङ भ्रमणमा आउने पर्यटकलाई प्रत्यक्ष असर पर्ने गरेको छ। पाथीभरा र कञ्चनजङ्घालगायत पर्यटकीय गन्तव्यमा जाने यात्रु पनि नियमित उडान अभावका कारण सहज यातायातबाट वञ्चित हुने गरेका छन्।
स्थानीयले नियमित हवाई सेवा सुनिश्चित गर्न निजी क्षेत्रका वायुसेवा कम्पनीलाई समेत आकर्षित गर्ने वातावरण बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने बताएका छन्।
