चीनमा एकै दिन चार नयाँ उच्चगति रेलमार्ग सञ्चालन
बेइजिङ । चीनले एकै दिन चारवटा प्रमुख उच्चगति रेलमार्ग सञ्चालनमा ल्याएको छ । नयाँ सञ्चालनमा आएका मार्गले देशका विभिन्न क्षेत्रलाई थप नजिक ल्याउनुका साथै यातायात र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नयाँ रेलमार्गमा हेबेईको स्युङआन–हेनानको साङछिउ, शान्सीको सिआन–आनकाङ, हुबेईको यिछाङ–सिङसान तथा हेइलोङजियाङको हार्बिन–यिछुन खण्ड छन् ।
चीन विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको मुलुक हो । नयाँ परियोजनामध्ये स्युङआन–साङछिउ खण्ड ५५२ किलोमिटर लामो छ । यसले हेबेई, शानडोङ र हेनानका विभिन्न शहरलाई जोड्नेछ । यो मार्ग सञ्चालनमा आएपछि स्युङआनदेखि साङछिउसम्मको यात्रा २ घण्टा २७ मिनेटमा पूरा हुने बताइएको छ ।
सिआन–आनकाङ रेलमार्ग १७१ किलोमिटर लामो छ । छिनलिङ पर्वत हुँदै निर्माण गरिएको यो मार्गमा रेलको डिजाइन गति प्रतिघण्टा ३५० किलोमिटर छ । यसबाट सिआन र आनकाङबीचको यात्रा करिब ४५ मिनेटमा सीमित हुनेछ ।
यिछाङ–सिङसान खण्ड निर्माणका क्रममा पनि कठिन भौगोलिक क्षेत्र पार गरिएको छ । दाबा पर्वत हुँदै जाने यस मार्गमा १६.९ किलोमिटर लामो सुरुङ र ठूलो उचाइको पुल निर्माण गरिएको छ । यसले याङ्त्से नदी क्षेत्रका प्रमुख उच्चगति रेलमार्गलाई आपसमा जोड्नेछ ।
त्यस्तै, उत्तरपूर्वी चीनमा सञ्चालनमा आएको हार्बिन–यिछुन रेलमार्ग ३१८ किलोमिटर लामो छ । यो चीनमा हालसम्म निर्माण भएको सबैभन्दा उत्तरी उच्चगति रेलमार्ग हो । पर्माफ्रोस्ट अर्थात् स्थायी रूपमा जमेको भूभागमा समेत यसको पूर्वाधार निर्माण गरिएको छ ।
नयाँ रेलमार्ग सञ्चालनपछि हार्बिन र यिछुनबीचको रेल यात्रा करिब ७ घण्टाबाट घटेर २ घण्टामा पुग्नेछ । यसले उत्तरी चीनका तुलनात्मक रूपमा कम पहुँच भएका क्षेत्रमा रेल सम्पर्क विस्तार गर्नेछ ।
पर्यटन र आर्थिक गतिविधिमा प्रभाव
राष्ट्रिय दिवसअघि सञ्चालनमा आएका यी रेलमार्गले पर्यटन आवागमनलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ । नयाँ रेल सम्पर्कले यिछाङको थ्री गर्जेज बाँध र यिछुनका वन क्षेत्रजस्ता पर्यटकीय गन्तव्यमा पुग्न सहज हुनेछ ।
चीन स्टेट रेलवे ग्रुपका अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्मको लामो बिदामा करिब २८ करोड ४० लाख यात्रुले रेलमार्फत यात्रा गर्ने अनुमान गरिएको छ ।
चीनले यातायातको बढ्दो माग र औद्योगिक आवश्यकतालाई सम्बोधन गर्न रेल सञ्जाल विस्तारलाई निरन्तरता दिएको छ । सन् २०२५ को अन्त्यसम्म देशको कुल रेलमार्ग लम्बाइ १ लाख ६५ हजार किलोमिटर पुगेको थियो, जसमा ५० हजार किलोमिटरभन्दा बढी उच्चगति रेलमार्ग रहेका छन् ।
आठ महिनामै ७५ अर्ब ९० करोड डलर लगानी
सन् २०२६ को पहिलो आठ महिनामा चीनले रेल क्षेत्रमा ५ खर्ब ११ अर्ब ८० करोड युआन अर्थात् करिब ७५ अर्ब ९० करोड अमेरिकी डलर स्थिर सम्पत्ति लगानी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.५ प्रतिशत बढी हो ।
चीनले सन् २०३५ सम्म उच्चगति रेल सञ्जाल ७० हजार किलोमिटर पुर्याउने लक्ष्य लिएको छ । प्रस्तावित सञ्जालमा उत्तर–दक्षिण दिशाका आठ र पूर्व–पश्चिम दिशाका आठ मुख्य रेलमार्ग रहनेछन् ।
