नारायणगढ–मुग्लिन सडकमा ४३ जोखिम क्षेत्र पहिचान, दुई ठाउँमा मात्रै रोकथामको काम
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, लेदो र गेग्रान खस्न सक्ने ४३ वटा जोखिमयुक्त स्थान पहिचान गरिए पनि अधिकांश क्षेत्रमा रोकथामका काम अघि बढ्न सकेका छैनन्।
सडक डिभिजन भरतपुरले हिउँदमा गरेको प्राविधिक अध्ययनका क्रममा ती स्थानलाई सम्भावित जोखिम क्षेत्रका रूपमा पहिचान गरी पूर्वतयारी र दीर्घकालीन नियन्त्रणका लागि सूची तयार पारेको थियो। तर पर्याप्त बजेट र प्राथमिकताका कारण अधिकांश ठाउँमा संरचनात्मक रोकथामका काम हुन नसकेको डिभिजनले जनाएको छ।
पहिचान भएका स्थानमध्ये तुइन खोला र नाम्सी खोलाको एउटा खण्डमा मात्रै पहिरो नियन्त्रणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ। नाम्सी खोलाकै अर्को भाग र कालीखोला क्षेत्र समेटिएको ठेक्का भने योग्य बोलपत्रदाता नआएपछि रद्द भएको छ।
सडक डिभिजन भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेका अनुसार उक्त क्षेत्रमा मनसुनका क्रममा थप पहिरो खसेकाले पुनः डिजाइन गरेर नयाँ ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ। स्रोत सहमति प्राप्त भएपछि अन्य जोखिमयुक्त क्षेत्रमा पनि क्रमशः काम अघि बढाइने उनले बताए।
यसबीच नारायणगढ–मुग्लिन सडकको सिमलताल क्षेत्रमा वर्षाका कारण करिब ८० मिटर सडक भासिएर एकतर्फी यातायात सञ्चालन भइरहेको छ। दसैँअघि नै ग्याबिन पर्खाल निर्माण, फिलिङ वा सडकको भित्ता कटिङ गरी दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको डिभिजनले जनाएको छ।
सडकको ३१ किलो क्षेत्रमा समेत तल्लो भागबाट करिब ५० मिटर कटान भएको छ। यसबाहेक सडकका अन्य करिब १० स्थानमा लगातार लेदो बग्ने समस्या देखिएको छ।
डिभिजन प्रमुख लामिछानेले ४३ वटै स्थानमा ठूलो संरचना निर्माण गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। उनका अनुसार तुइन खोला, नाम्सी खोला, सिमलताल र २६ किलो क्षेत्र तत्काल ठूलो संरचनासहितको नियन्त्रण आवश्यक पर्ने मुख्य स्थान हुन्।
बाँकी साना खोल्सा तथा डेब्रिज आउने स्थानमा भने नियमित बजेट, बायो–इन्जिनियरिङ र बाँसका चेकड्यामलगायतका उपायबाट सामान्य रोकथाम भइरहेको डिभिजनले जनाएको छ।
दसैँ नजिकिँदै गर्दा नारायणगढ–मुग्लिन सडकमा यात्रुको चाप बढ्ने भएकाले सिमलतालसहित जोखिमयुक्त क्षेत्रमा तत्काल मर्मत तथा व्यवस्थापनको कामलाई तीव्रता दिने तयारी गरिएको छ। दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका संरचना निर्माण नभएसम्म भने यस सडकखण्डमा वर्षायाममा यात्रा जोखिमपूर्ण रहने अवस्था कायमै रहने देखिन्छ
