हिमलुङ हिमपहिरोमा बेपत्ताको खोजी तत्कालका लागि रोकियो
काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार अभियान तत्कालका लागि स्थगित गरिएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक स्टाफ सम्पर्कविहीन छन्।
हिमपहिरोमा परी हालसम्म चार जनाको शव फेला परिसकेको छ। घटना भएपछि एनएनएमजीएको नेतृत्वमा अनुभवी उद्धारकर्मीहरूको टोली तत्काल खोज तथा उद्धारमा परिचालन गरिएको थियो।
हिमलुङ आधार शिविरमा आएको ठूलो हिमपहिरोका कारण उक्त क्षेत्र करिब १४ फिटसम्म बाक्लो हिउँले पुरिएको एसोसिएसनले जनाएको छ। प्रतिकूल भौगोलिक तथा मौसमजन्य अवस्थाबीच पनि मिङ्माको नेतृत्वमा आठ सदस्यीय उद्धार टोलीले खोजी अभियान सञ्चालन गरेको थियो।
तर, हाल जीवित व्यक्तिको उद्धार सम्भावना न्यून रहेको निष्कर्षपछि खोज तथा उद्धार कार्य अस्थायी रूपमा रोकिएको एसोसिएसनले जनाएको छ।
हिमपात तथा हिमालको अवस्था अनुकूल भएपछि बेपत्ताको खोजीका लागि पुनः उत्खनन कार्य अघि बढाइने एनएनएमजीएले जनाएको छ।
