नवलपरासी पूर्वमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको ज्यान गयो
नवलपरासी पूर्व — नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस बिहान करिब ४ बजे दुर्घटनामा परेको हो। चालकले बस नियन्त्रणमा लिन नसक्दा सडकबाट तल नालामा खसेर बस पल्टिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटनामा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, पहिचान खुल्न नसकेका करिब ४०–४२ वर्षीय एक पुरुषको पनि घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले बताए।
दुर्घटनामा बसभित्र च्यापिएका चार जनालाई दुईवटा क्रेनको प्रयोग गरी बिहान ६ः१५ बजे उद्धार गरिएको थियो। उद्धार गरिएकाहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढालाई थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ। त्यसैगरी, नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर रहेको र उनलाई बिहान ७ः४० बजे थप उपचारका लागि नयाँ मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृति थारू, राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारू, बाजुरा स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार घाइतेहरूको अनुहार, टाउको, कम्मर, हात र खुट्टामा चोट लागेको छ। अधिकांश घाइतेको अवस्था बोल्न सक्ने रहेको बताइएको छ।
घाइतेमध्ये अनोज खत्री अछामको श्री गोरखबक्स गण मंगलसेन ब्यारेकमा प्युठका रूपमा कार्यरत रहेको र दसैं बिदामा घर फर्किंदै गरेको प्रहरीले जनाएको छ।
बसमा रहेका अन्य दुई यात्रु भने सकुशल रहेको बताइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
