खुल्यो बेँसीसहर–चामे सडक
लमजुङ — बाढीपहिरोका कारण झन्डै एक सातादेखि बन्द रहेको बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ।
लगातारको वर्षासँगै आएको पहिरोका कारण सडकका विभिन्न ठाउँमा आवागमन रोकिएको थियो। नासों गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतो क्षेत्रमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुंगामाटो हटाएपछि यातायात सञ्चालन गर्न सकिएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले जनाएको छ।
आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार पहिरो पन्छाएर सडक खुलाइएपछि सवारीसाधन आवतजावत गर्न थालेका छन्।
बाढीपहिरोले सडकका केही भागमा क्षति पुर्याउनुका साथै कतिपय स्थानमा सडक भासिएपछि बेँसीसहर–चामे खण्डमा यातायात प्रभावित भएको थियो।
सडक खुलेसँगै मनाङमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री पुर्याउन सहज भएको छ। साथै स्थानीय बासिन्दा तथा यात्रुको आवागमन पनि नियमित हुन थालेको छ।
