बेनी–जोमसोम सडक अवरुद्ध हुँदा पर्यटकलाई सास्ती, पदयात्रा सहज बनाउन युवाको श्रमदान
म्याग्दी— हिमाली पर्यटनको प्रमुख गन्तव्य मुस्ताङ जाने बेनी–जोमसोम सडक बाढीपहिरोले अवरुद्ध भएपछि पर्यटक, तीर्थयात्री र स्थानीयको आवागमन प्रभावित भएको छ। सडकमा सवारी सञ्चालन हुन नसक्दा पैदल यात्रा गर्नुपर्ने अवस्थालाई केही सहज र सुरक्षित बनाउन युवाहरू स्वयंसेवी अभियानमा जुटेका छन्।
बेनीका प्रकाश पौडेलको नेतृत्वमा १५ जनाको युवा टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा श्रमदान गर्दै पैदल यात्राका लागि असहज स्थानमा भर्याङ राख्नुका साथै डोरी झुन्ड्याएको छ। यात्रामा बाधा पुर्याउने रुख तथा अन्य अवरोध हटाएर पैदलयात्रीलाई सुरक्षित रूपमा आवतजावत गर्ने वातावरण बनाउन टोलीले दिनभर काम गरेको थियो।
पौडेलका अनुसार सडक नियमित रूपमा सञ्चालनमा नआएसम्म पर्यटक तथा अन्य यात्रुले जोखिमपूर्ण बाटो हुँदै पैदल यात्रा गर्नुपर्ने अवस्था रहेकाले स्वयंसेवी रूपमा सहयोग गरिएको हो। सामाजिक सञ्जालमार्फत आह्वान गरी युवाहरूलाई परिचालन गरिएको उनले बताए।
गत साता परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी बेनीदेखि काभ्रेभिरसम्मको करिब ३३ किलोमिटर सडक विभिन्न ठाउँमा पहिरो, बाढी र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त बनेको छ।
कुनै स्थानमा कालोपत्रे सडक पूर्ण रूपमा बगेको छ भने कतिपय ठाउँमा सडकको संरचनासमेत पहिरोले बगाएको छ। यसअघि दैनिक ठूलो संख्यामा सवारीसाधन र पर्यटक आवतजावत गर्ने यो सडक अहिले पैदलयात्रीका लागि समेत जोखिमपूर्ण बनेको छ।
सडक अवरुद्ध भएपछि मुस्ताङमा रहेका पर्यटक तथा तीर्थयात्रीलाई बाहिर निस्कन र नयाँ पर्यटकलाई गन्तव्यतर्फ पुग्न कठिनाइ भएको छ। अत्यावश्यक कामका लागि स्थानीय, व्यवसायी तथा यात्रुले समेत जोखिम मोलेर पैदल यात्रा गर्नुपर्ने अवस्था छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार पछिल्लो बाढीपहिरोपछि अवरुद्ध भएका ४६ स्थानमध्ये ४१ ठाउँमा मर्मतको काम पूरा भइसकेको छ। बाँकी स्थानमा समेत काम तीव्र पारिएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको तिल्केनीचौर, खामभित्ता र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक मर्मत जारी छ। इन्धन तथा आवश्यक उपकरणको व्यवस्थापन गरी थप स्थानमा मजदुर र मेसिन परिचालन गरिएको उनले बताए।
मुस्ताङको पर्यटन सिजन सुरु भइरहेका बेला सडकलाई छिटो सञ्चालनमा ल्याउन सकिए पर्यटकको आवागमन, स्थानीय पर्यटन व्यवसाय र समग्र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म भने जोखिमपूर्ण पैदलमार्ग नै धेरै यात्रुका लागि तत्कालको विकल्प बनेको छ।
