दाउन्ने बस दुर्घटनाका मृतक ६ जनाकै पहिचान खुल्यो
काठमाडौं — पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जनाको पहिचान खुलेको छ।
नेपालगञ्जबाट काठमाडौंका लागि १८ जना यात्रु बोकेर हिँडेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा बस चालकसहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएको छ। दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय बस चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी छन्।
घाइतेमध्ये आठ जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा प्रारम्भिक उपचार गरिएको थियो।
बाँकी चार जना घाइतेलाई भने मध्यविन्दु प्रादेशिक अस्पतालमै भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ।
अस्पतालका अनुसार घाइतेहरूको चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ। विशेषज्ञ उपचार आवश्यक देखिएका बिरामीलाई अवस्थाअनुसार अन्य स्वास्थ्य संस्थामा समेत पठाइएको अस्पतालले जनाएको छ।
