हिमपातले रोकिएको हिल्सा–सिमकोट सडक एक साताभित्र खुलाउने तयारी
सुर्खेत — हिमपात र पहिरोका कारण अवरुद्ध हुम्लाको हिल्सा–सिमकोट सडकखण्डलाई एक साताभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक बन्द भएपछि सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दासँगै पर्यटक र व्यवसायीको आवागमन प्रभावित भएको छ।
नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा पहिरो तथा हिमपातका कारण सडक अवरुद्ध भएपछि हिल्सादेखि सिमकोटसम्मको यातायात ठप्प भएको हो।
हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार सडक खुलाउन आवश्यक उपकरण, जनशक्ति र अन्य स्रोतसाधन परिचालन गर्ने काम भइरहेको छ। माथिल्लो क्षेत्रमा १२ किलोमिटरभन्दा बढी दूरीमा हिउँ जमेकाले सडक सफा गर्न चुनौती देखिएको उनले बताए।
मौसममा थप प्रतिकूलता नआए एक साताभित्र सडक सञ्चालनमा ल्याउन सकिने प्रशासनको अनुमान छ। दुर्गम हिमाली क्षेत्रमा मेसिन, इन्धन तथा आवश्यक सामग्री पुर्याउन कठिन हुँदा सडक खुलाउने काममा थप समय लाग्ने गरेको प्रशासनले जनाएको छ।
यसअघि अवरुद्ध सल्लीसल्ला–सिमकोट सडकखण्ड भने पहिरो र ढुंगा हटाएर सञ्चालनमा ल्याइएको छ। तर सिमकोटदेखि हिल्सासम्मका विभिन्न स्थानमा हिमपात र पहिरोका कारण अझै आवागमन रोकिएको छ।
हिल्सा–सिमकोट मार्ग उत्तरी हुम्लाका बस्तीलाई जिल्ला सदरमुकामसँग जोड्ने प्रमुख सडक हो। सडक बन्द हुँदा नाम्खा क्षेत्रका बासिन्दालाई उपचार, सरकारी काम तथा दैनिक उपभोग्य सामग्रीका लागि सिमकोट पुग्न कठिन भएको छ।
दसैँ नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि घर फर्कने नागरिक र व्यापार व्यवसायमा संलग्न स्थानीयसमेत प्रभावित भएका छन्। सडकमार्फत हुने खाद्यान्न तथा अन्य दैनिक आवश्यक वस्तुको ढुवानीमा पनि असर परेको छ।
पर्यटनमा प्रत्यक्ष असर
हिल्सा–सिमकोट सडक नेपालको हिमाली पर्यटनका लागि महत्वपूर्ण मार्ग मानिन्छ। हिल्सा नाका हुँदै चीनको ताक्लाकोट र कैलाश मानसरोवर क्षेत्रतर्फ जाने पर्यटकको आवागमन यही क्षेत्रसँग जोडिन्छ।
सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रको पर्यटकीय गतिविधि प्रभावित भएको पर्यटन व्यवसायीहरूले बताएका छन्। हिमपात र प्रतिकूल मौसमका कारण हिल्सा–ताक्लाकोटतर्फको आवागमनमा समेत असर परेको छ।
प्रशासनले मौसम अनुकूल रहे सडक सफा गर्ने कामलाई तीव्रता दिने जनाएको छ। सडक पुनः सञ्चालनमा आएपछि स्थानीय आवागमनसँगै हिल्सा हुँदै हुने पर्यटकीय गतिविधि र सीमावर्ती व्यापारमा समेत सहजता आउने अपेक्षा गरिएको छ।
