विगतका कुरा जोडेर समाचार नबनाइदिन एलिना चौहानको आग्रह
काठमाडौं । गायिका एलिना चौहानले आफ्नो विगतका सम्बन्धलाई जोडेर बारम्बार समाचार तथा सामाजिक सञ्जालमा चर्चा नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू विगतबाट अघि बढिसकेको बताएकी छन्। पुराना सम्बन्ध र तस्बिरलाई वर्तमानसँग जोडेर समाचार बनाउँदा आफूलाई मानसिक रूपमा असहज हुने उनको भनाइ छ।
चौहानले आफूले विगतका पीडादायी घटनालाई पछाडि छाडिसकेको उल्लेख गर्दै जीवनको पुरानो अध्यायलाई बारम्बार दोहोर्याएर नदेखाउन आग्रह गरेकी छन्।
उनले आफ्नो पहिचान स्थापित गर्न कुनै व्यक्तिको नाम आवश्यक नरहेको बताउँदै आफू अहिले आफ्नै पहिचान र यात्राका साथ अघि बढिरहेको स्पष्ट पारेकी छन्।
‘विगत मेरो जीवनको एउटा अध्याय हो, सम्पूर्ण जीवन होइन,’ भन्ने आशय व्यक्त गर्दै उनले पुराना सम्बन्धलाई आफ्नो वर्तमानको परिचय नबनाइदिन अनुरोध गरेकी छन्।
चौहानले आफूले नगरेका वा कल्पनासमेत नगरेका विषयहरू समाचारमा आउने गरेको भन्दै त्यस्ता सामग्रीप्रति आपत्ति जनाएकी छन्।
साथै, आफ्नो आत्मसम्मानमा आँच पुर्याउने वा भ्रामक समाचार तथा सामग्री निरन्तर प्रकाशित तथा प्रसारित भए कानुनी बाटो रोज्ने चेतावनीसमेत उनले दिएकी छन्।
उनको मुख्य आग्रह आफ्नो विगतभन्दा वर्तमान जीवन, व्यक्तिगत पहिचान र सांगीतिक यात्रालाई प्राथमिकता दिनु रहेको छ।
