कृष्णभीरको जोखिम छल्न फिस्लिङ–बेनीघाट जोडिँदै, दीर्घकालमा ३ अर्बको वैकल्पिक राजमार्ग योजना
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बाढी, पहिरो र त्रिशूली नदीको कटानका कारण सडक अवरुद्ध हुने क्रम बढेपछि सरकारले नदीको पारिपट्टिबाट जाने वैकल्पिक सडकलाई प्राथमिकता दिएको छ। यही योजनाअन्तर्गत चितवनको फिस्लिङदेखि धादिङको बेनीघाटसम्मको सडक जोड्ने काम तीव्र पारिएको हो।
फिस्लिङ–बेनीघाट सडकको बीचमा बाँकी रहेको करिब १.८ किलोमिटर कठिन चट्टानी क्षेत्रमा अहिले ट्रयाक खोल्ने काम भइरहेको छ। करिब १९ किलोमिटर लामो यो सडकको अधिकांश भाग विभिन्न निकायबाट निर्माण भइसकेको भए पनि बीचको खण्ड पूरा नहुँदा फिस्लिङ र बेनीघाटबीच प्रत्यक्ष वैकल्पिक सडक सम्पर्क हुन सकेको थिएन।
सडक योजना कार्यालय गोरखाका योजना प्रमुख बिनोद पुनका अनुसार दुवैतर्फबाट पाँचदेखि छवटा हेभी मेसिन प्रयोग गरी ट्रयाक खोल्ने काम भइरहेको छ। आपतकालीन व्यवस्थाअन्तर्गत ठेक्का सम्झौता गरेर एक महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
अहिले तत्काल यातायात सञ्चालन गर्न मिल्ने गरी ७ देखि ८ मिटर चौडाइको ट्रयाक निर्माण भइरहेको छ। ठाडो भीर र कडा चट्टानका कारण निर्माण चुनौतीपूर्ण भए पनि दसैंअघि ट्रयाक खोल्ने सरकारी तयारी छ।
कात्तिकभित्र यातायात सञ्चालन गर्ने लक्ष्य
ट्रयाक खुलेपछि तत्कालै नियमित यातायात सञ्चालन गर्न भने सडकको थप सुधार आवश्यक पर्नेछ। सडकको सतह मिलाउने, ग्रेड सुधार गर्ने, ग्राभेल हाल्ने, पानी निकासको व्यवस्था गर्ने तथा जोखिमयुक्त क्षेत्रमा सुरक्षा संरचना निर्माण गर्नुपर्नेछ।
फिस्लिङ–बेनीघाट सडकको करिब १० किलोमिटर खण्ड बागमती प्रदेश सरकारअन्तर्गत निर्माणाधीन छ भने करिब ७ किलोमिटर ट्रयाक स्थानीय तहले यसअघि नै खोलेको छ। बाँकी करिब १.८ किलोमिटर खण्ड सडक विभागले आपतकालीन ठेक्कामार्फत अघि बढाइरहेको हो।
स्थानीय तहले खनेको सडकका केही भागमा अत्यधिक भिरालोपन अर्थात् ‘हाई ग्रेड’ रहेकाले ठूला सवारीसाधन सञ्चालनमा जोखिम हुनसक्ने सडक योजना कार्यालयले जनाएको छ। त्यसैले स्थानीय तहसँग समन्वय गरी सडकको ग्रेड र मोड सुधार गर्ने योजना पनि अघि बढाइएको छ।
आवश्यक प्राविधिक सुधार पूरा गर्न सके कात्तिकभित्र फिस्लिङ–बेनीघाटबाट यातायात सञ्चालन गर्न सकिने सम्भावना रहेको योजना प्रमुख पुनले बताएका छन्। यद्यपि नियमित यातायात सञ्चालनको निश्चित मिति भने तय भइसकेको छैन।
तत्काल ट्रयाक खोल्न बजेट अभाव नरहेको र सडक बोर्ड नेपालबाट करिब १० करोड रुपैयाँ स्वीकृत भई आउने प्रक्रियामा रहेको जनाइएको छ।
दीर्घकालमा मुग्लिङ–बेनीघाट दुई लेनको सडक
फिस्लिङ–बेनीघाट सडकलाई सरकारले कृष्णभीरको तत्कालीन वैकल्पिक मार्गका रूपमा अघि सारेको भए पनि दीर्घकालीन योजनासमेत तयार पारिएको छ।
बाढी तथा पहिरोजस्ता विपद्का कारण पृथ्वी राजमार्गमा बारम्बार समस्या आउन थालेपछि त्रिशूली नदीको पारिपट्टि समानान्तर रूपमा मुग्लिङदेखि बेनीघाटसम्म छुट्टै दुई लेनको सडक निर्माण गर्ने प्रस्ताव अघि बढाइएको छ।
करिब ३६ देखि ३७ किलोमिटर लामो उक्त सडक निर्माणका लागि करिब ३ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। योजना हाल स्वीकृतिको प्रक्रियामा रहेको सडक योजना कार्यालय गोरखाले जनाएको छ।
योजना स्वीकृत भएमा हाल निर्माण भइरहेको फिस्लिङ–बेनीघाट सडकलाई समेत समेटेर स्तरोन्नति, ग्राभेलिङ र कालोपत्र गरिनेछ। त्यसपछि यो सडकलाई मुग्लिङ–कृष्णभीर क्षेत्रमा हुने सम्भावित अवरोधका बेला मात्र होइन, दीर्घकालीन वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
दुई मोटरेबल पुललाई सडकले जोड्दै
फिस्लिङ–बेनीघाट योजना पूर्ण रूपमा नयाँ सडक निर्माण गर्ने परियोजना होइन। फिस्लिङ र बेनीघाट दुवैतर्फ मोटरेबल पुल निर्माण भइसकेका छन्। अब यी दुई पुललाई बीचको सडक सञ्जालमार्फत जोडेर पृथ्वी राजमार्गको जोखिमयुक्त कृष्णभीर क्षेत्रलाई छल्ने योजना हो।
फिस्लिङ पुल पार गरेपछि सडक गोरखाको गण्डकी गाउँपालिका हुँदै कौदी, ज्यामिरेघाट, पल्लोटार र सिउरेनीटार हुँदै बेनीघाट पुग्नेछ।
गोरखाको गण्डकी गाउँपालिकाले आफ्नो क्षेत्रमा साखर–कौदीदेखि ज्यामिरेघाटसम्म करिब ६.५ किलोमिटर ट्रयाक खोलिसकेको छ। ज्यामिरेघाटदेखि सिउरेनीटारसम्मको करिब १० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि ठेक्का लागिसकेको छ।
यसरी विभिन्न निकायबाट निर्माण भइरहेका सडकलाई जोड्न बाँकी मुख्य १.८ किलोमिटर खण्डलाई सडक विभागले अहिले प्राथमिकतामा राखेको हो।
कृष्णभीरको अस्थायी ट्रयाकले जोखिम हटाएन
कृष्णभीरमा मुख्य राजमार्ग अवरुद्ध भएपछि करिब २७० मिटर लामो नयाँ ट्रयाक बनाएर असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। यसले तत्काल आवागमन सहज बनाए पनि कृष्णभीरको जोखिम भने अन्त्य भएको छैन।
त्रिशूली नदीको कटान र लगातारको वर्षाका कारण सडकको तल्लो संरचना कमजोर बनेको छ। माथिल्लो भिरबाट पहिरो र लेदो खस्ने तथा सडक भासिने जोखिम अझै कायम रहेको सडक अधिकारीहरूले बताएका छन्।
असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षामा कृष्णभीरमा पुनः पहिरो खसेपछि अस्थायी ट्रयाकको जोखिम पनि देखिएको थियो। सडकको नदीतर्फको संरचनामा थप क्षति पुगेको र विभिन्न स्थानमा सडक भासिने समस्या दोहोरिएको जनाइएको छ।
त्यसैले २७० मिटरको नयाँ ट्रयाकलाई स्थायी समाधानका रूपमा नलिई दीर्घकालीन विकल्प खोज्नुपर्ने अवस्था रहेको सडक विभागको भनाइ छ।
सुरुङ वा बाइपासको विकल्पमा अध्ययन
कृष्णभीरको स्थायी समाधानका लागि सडक विभागले सुरुङ, बाइपास सडक तथा अन्य सुरक्षित संरचना निर्माणका विकल्पबारे अध्ययन गरिरहेको छ।
नदी कटानका कारण सडकको आधार नै कमजोर बनेकाले केवल ट्रयाक बनाएर दीर्घकालीन समस्या समाधान गर्न नसकिने विभागको निष्कर्ष छ। कृष्णभीरको भूगोल, नदी कटान, पहिरोको जोखिम, निर्माण सम्भाव्यता र लागतलगायत विषयको अध्ययनपछि उपयुक्त विकल्प छनोट गरिनेछ।
यसबीच मासटारको पुल हुँदै परेवाटारबाट धादिङबेँसी पुग्ने करिब २० किलोमिटर सडकलाई पनि वैकल्पिक मार्गका रूपमा हेरिएको छ। त्यहाँबाट आरुघाट हुँदै गोरखातर्फको सम्पर्कसमेत विकास गर्न सकिने सडक विभागले जनाएको छ।
तर फिस्लिङ–बेनीघाटलाई प्राथमिकता दिनुको मुख्य कारण दुवै छेउमा मोटरेबल पुल पहिल्यै बनेको र सडकको ठूलो हिस्सा पनि तयार भइसकेको हुनु हो। बाँकी छोटो खण्ड जोडेर तुलनात्मक रूपमा छिटो वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन सकिने अवस्था छ।
एक दशकअघिको योजनाले फेरि पायो चर्चा
त्रिशूली नदीको पारिपट्टिबाट समानान्तर सडक निर्माण गर्ने अवधारणा भने नयाँ होइन। पृथ्वी राजमार्गको जोखिमपूर्ण भूगोललाई ध्यानमा राखेर करिब एक दशकअघि नै वैकल्पिक सडकको अध्ययन गरिएको थियो।
विश्व बैंकको ऋण सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नागढुंगा–मुग्लिन सडकसँगै त्रिशूलीपारि समानान्तर सडक निर्माणको विस्तृत अध्ययन गरिएको थियो। सन् २०१८ जुलाईमा अध्ययन प्रतिवेदन सडक विभागमा बुझाइएको थियो।
त्यतिबेला सिस्ने–धार्के सडकका लागि करिब ४ अर्ब ३० करोड रुपैयाँ र विशालटार–फिस्लिङ सडकका लागि करिब ६ अर्ब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। जग्गा अधिग्रहण, घरटहरा व्यवस्थापन, पुल तथा कल्भर्ट निर्माण र रूख हटाउनेलगायतका कामसमेत अध्ययनमा समेटिएका थिए।
तर जग्गा अधिग्रहण तथा मुआब्जामा ठूलो रकम आवश्यक पर्ने भएपछि योजना अघि बढ्न सकेन। त्यसपछि सरकारले नागढुंगा–मुग्लिन सडक स्तरोन्नतिलाई प्राथमिकता दिएको थियो।
पुरानो अध्ययनको डिजिटल प्रति खोजिँदै
दशकअघि तयार भएको विस्तृत अध्ययन प्रतिवेदनको मूल प्रति अहिले सडक विभागसँग सुरक्षित नरहेको बताइएको छ। जेन–जी आन्दोलनका क्रममा भएको आगलागीमा मूल प्रति नष्ट भएको विवरण आएपछि विभागले त्यसको डिजिटल प्रति खोजिरहेको छ।
डिजिटल प्रति भेटिए पुरानो अध्ययनलाई पुनः छलफलमा ल्याउन सकिने अधिकारीहरूको भनाइ छ। त्रिशूलीपारि ठूलो वैकल्पिक सडक निर्माण गर्ने विषयमा भने मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने बताइएको छ।
हाल भइरहेको फिस्लिङ–बेनीघाटको काम र पुरानो अध्ययनबीच भने फरक छ। पुरानो योजना ठूलो समानान्तर सडक निर्माणसँग सम्बन्धित थियो भने अहिलेको योजना पहिल्यै निर्माण भएका सडक र पुललाई जोडेर तत्काल वैकल्पिक यातायात सञ्चालनमा ल्याउने उद्देश्यमा केन्द्रित छ।
यसरी तत्कालका लागि फिस्लिङ–बेनीघाटलाई सञ्चालनयोग्य बनाउने र दीर्घकालमा मुग्लिङ–बेनीघाट दुई लेनको वैकल्पिक राजमार्ग विकास गर्ने सरकारी तयारीले पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा देखिँदै आएको जोखिम कम गर्ने लक्ष्य राखेको छ।
