जसपा नेपालका चार नेताले छाडे पार्टी, ‘हुंकार मधेश’ अभियानमार्फत अघि बढ्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।
पार्टी परित्याग गर्नेमा पूर्वसांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो. युसुफ साफी, केन्द्रीय निर्वाचन आयोग तथा कानुन विभाग सदस्य घणश्याम शर्मा र पुष्पराज चमन रहेका छन्।
चारै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको जानकारी दिएका हुन्। उनीहरूले अब आफ्नो राजनीतिक गतिविधि ‘हुंकार मधेश’ अभियानमार्फत अघि बढाउने बताएका छन्।
यसअघि पनि मधेशकेन्द्रित राजनीतिमा नयाँ राजनीतिक ध्रुवीकरण देखिएको थियो। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका थिए।
उनीहरूले असोज ९ गते काठमाडौंमा नयाँ राजनीतिक अभियानका रूपमा ‘हुंकार मधेश’ सुरु गर्ने घोषणा गरेका थिए। पछिल्लो समय विभिन्न मधेशकेन्द्रित दलका नेताहरू उक्त अभियानतर्फ आकर्षित हुन थालेका छन्।
