हिमपात पार गर्दै डोल्पाबाट जोमसोम झर्यो एक हजार च्याङ्ग्राको बथान
मुस्ताङ । दसैँ नजिकिँदै गर्दा मुस्ताङमा भेडाच्याङ्ग्राको कारोबार बढ्न थालेको छ। दसैँका लागि आवश्यक च्याङ्ग्रा लिएर माथिल्लो डोल्पाबाट व्यापारीहरू जोमसोम पुग्न थालेका छन्।
डोल्पाका व्यापारी शेरबहादुर रोकाया पाँच जना सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर शनिबार साँझ जोमसोम आइपुगेका हुन्। डोल्पाबाट मुस्ताङसम्मको यात्रा पूरा गर्न टोलीलाई एक साताभन्दा बढी समय लागेको छ।
रोकाया तीन दशकदेखि च्याङ्ग्राको व्यापारमा संलग्न छन्। उनका अनुसार यसपटकको यात्रा भने विगतका वर्षको तुलनामा निकै कठिन रह्यो। भारी वर्षा र हिमपातका कारण बाटोमा बाक्लो हिउँ जम्दा च्याङ्ग्राको बथान लिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको उनले बताए।
डोल्पो बुद्ध गाउँपालिकाबाट असोज ९ गते यात्रा सुरु गरेको टोली असोज १७ गते साँझ जोमसोम पुगेको हो। अहिले च्याङ्ग्राहरू घरपझोङ गाउँपालिकाअन्तर्गतको सार्वजनिक मैदानमा राखिएका छन्।
हिउँले ढाकिएको बाटोमा कठिन यात्रा
डोल्पाबाट मुस्ताङ आउने पदमार्गका धेरै ठाउँमा हिउँ जमेको थियो। वर्षासँगै भएको हिमपातले बाटो निकै कठिन बनेको रोकायाले बताए।
उनका अनुसार माथिल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याइएको हो।
नेपाल–चीन सीमावर्ती क्षेत्रमा हुँदै आएको च्याङ्ग्रा मेला यसपटक सञ्चालन नभएकाले डोल्पामै किसानबाट च्याङ्ग्रा खरिद गर्नुपरेको उनले बताए।
आठ हजारभन्दा बढी च्याङ्ग्रा ल्याउने तयारी
यस वर्ष डोल्पाबाट करिब आठ हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको व्यापारी रोकायाले जानकारी दिए। तर गत वर्षको तुलनामा यसपटक डोल्पाबाट मुस्ताङ झर्ने च्याङ्ग्राको संख्या घट्ने अनुमान गरिएको छ।
गत वर्ष दसैँको समयमा डोल्पाबाट ११ हजारभन्दा बढी च्याङ्ग्रा मुस्ताङ ल्याइएको थियो।
रोकायाका अनुसार गत वर्ष व्यापारमा अपेक्षित लाभ हुन नसके पनि यसपटक ठूलो रकम च्याङ्ग्रामा लगानी गरिएको छ। दसैँको बजारलाई लक्षित गरेर गरिएको लगानीका कारण सडक तथा पदमार्ग सहज हुनुपर्ने उनको अपेक्षा छ।
सडक अवरुद्ध भए व्यापारमा असर पर्ने चिन्ता
बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा जोमसोमबाट च्याङ्ग्रा पोखरा तथा अन्य बजारसम्म पुर्याउन समस्या हुने व्यापारीहरूको चिन्ता छ।
रोकायाले च्याङ्ग्रामा आफ्नो ठूलो लगानी रहेको बताउँदै दसैँपछि डोल्पा फर्किने बाटो पनि सरकारले समयमै सहज बनाइदिनुपर्ने बताए।
जोमसोममा च्याङ्ग्राको आगमनसँगै दसैँ लक्षित व्यापारिक गतिविधि बढ्न थालेको छ। अब माथिल्लो मुस्ताङबाट पनि च्याङ्ग्रा जोमसोम झर्ने क्रम सुरु हुने अपेक्षा गरिएको छ।
