कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी विजयी भएका छन्।
खुला प्रतिस्पर्धातर्फ चन्द्र भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै सर्वाधिक मतसहित उपसभापतिमा निर्वाचित भए। मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरी उपसभापति पदमा सफलता हासिल गरे।
त्यस्तै, समावेशी उपसभापति पदमा विनोद चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
खुला उपसभापति पदका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे।
समावेशी उपसभापति पदमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए।
यसअघि महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी थिइन्। वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा पनि निर्विरोध चयन भएका थिए।
कांग्रेसको संशोधित विधानअनुसार वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था छ। यसैगरी, पार्टीको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
