बूढीगण्डकी बाढीले मनास्लु क्षेत्रका पर्यटक अलपत्र
गण्डकी । बूढीगण्डकी नदीमा आएको बाढीले पदमार्ग र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि गोरखाको मनास्लु संरक्षण क्षेत्रमा भ्रमणका लागि गएका पर्यटक बाटोमै रोकिएका छन्। बाढीका कारण उनीहरूको यात्रा अवरुद्ध भएको हो।
मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार पर्यटकहरू विभिन्न स्थानमा रोकिए पनि सबै सुरक्षित अवस्थामा छन्। उनीहरूलाई सुरक्षित स्थानमा पुर्याउन तथा आवश्यक उद्धारका लागि पहल भइरहेको उनले जानकारी दिए।
उनका अनुसार मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका–३, जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएका छन्। शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गरेका थिए। रातिसम्म जगत आइपुगेका अन्य पर्यटक पनि त्यहीँ सुरक्षित रूपमा बसेका छन्। उनीहरूको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्ने विषयमा पहल भइरहेको ओझाले बताए।
बाढीले मनास्लु जाने मुख्य पदमार्ग र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि पर्यटकको आवागमन प्रभावित भएको छ। चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पामा पनि १७ जना पर्यटक उद्धारको प्रतीक्षामा छन्। त्यस्तै, चुम उपत्यकाको छेकम्पार क्षेत्रमा ४० जना पर्यटक रहेको संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।
पर्यटकसँगै भरिया र पथप्रदर्शकसमेत विभिन्न स्थानमा रोकिएकाले उनीहरूको सुरक्षित आवागमनका लागि स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।
उनका अनुसार संरक्षण क्षेत्रमा रहेका पर्यटकको यकिन विवरण संकलन गर्ने, उद्धारको व्यवस्था मिलाउने र सुरक्षित रूपमा आवतजावत गर्न सक्ने वातावरण बनाउने प्रयास भइरहेको छ।
पर्यटनको मुख्य याममै प्राकृतिक विपद्का घटना भएपछि मनास्लु क्षेत्रको पर्यटन गतिविधिमा समेत असर परेको आचार्यले बताए।
