बूढीगण्डकीमा विनाशकारी बाढी : पहिरोले नदी थुनेर अवरोध फुटेको इसिमोडको प्रारम्भिक अनुमान
काठमाडौं । गोरखाको चुम्चेत आसपास बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढी पहिरोका कारण नदीको बहाव रोकिएर बनेको अस्थायी बाँध फुट्दा आएको हुन सक्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले प्रारम्भिक आकलन गरेको छ।
इसिमोडका अनुसार आइतबार बिहान करिब ४ बजेतिर सुरु भएको बाढीको प्रारम्भिक विश्लेषणले पहिरोले नदीको बहाव अवरुद्ध पारेपछि बनेको अस्थायी संरचना फुटेर गेग्रानसहितको बाढी आएको सम्भावना देखाएको छ।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता छियाङगङ झाङले नेपाली समयअनुसार आइतबार बिहान ११:३० बजेसम्म सार्वजनिक भएका सूचनाका आधारमा यस्तो आकलन गरिएको बताएका छन्। उद्धार र अनुसन्धान जारी रहेकाले घटनाको वास्तविक कारण, क्षति र प्रभावित क्षेत्रसम्बन्धी विवरण थप स्पष्ट हुन बाँकी रहेको उनको भनाइ छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नेपाली सेनाबाट प्राप्त विवरणका आधारमा पहिरोले नदीको बहाव थुनेपछि बाढी आएको हुन सक्ने अनुमान गरेको थियो।
बाढीका कारण घर, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएका छन्। गोरखाको सेल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनास्थलमा समेत गम्भीर क्षति पुगेको बताइएको छ। यद्यपि, भौतिक तथा मानवीय क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ।
बाढीले कालो माटो, गेग्रान र विभिन्न अवशेष बगाएर तल्लो तटीय क्षेत्रमा पुर्याएको थियो। नदीमा पानीको सतहमा उतारचढाव र जोखिम बढेपछि बूढीगण्डकी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, विस्थापितको स्थानान्तरण र अस्थायी बसोबासको व्यवस्थापनका काम भइरहेका छन्।
हिमाली क्षेत्रमा एउटा विपद्ले अर्को जोखिम निम्त्याउने चुनौती
इसिमोडका अनुसार बूढीगण्डकीको पछिल्लो घटनाले हिमाली क्षेत्रमा पहिरो, नदी अवरोध र आकस्मिक बाढीजस्ता प्राकृतिक प्रक्रियाले एकपछि अर्को विपद् निम्त्याउन सक्ने जोखिम उजागर गरेको छ। यस्ता घटनाको प्रभाव घटनास्थलमा मात्रै सीमित नहुने र नदीको तल्लो तटीय क्षेत्रसम्म फैलिन सक्ने भएकाले जोखिमको समग्र मूल्यांकन आवश्यक रहेको संस्थाको भनाइ छ।
इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले तत्काल उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै बाढीको वास्तविक कारण पहिचान गर्नु भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि महत्त्वपूर्ण हुने बताएका छन्।
बूढीगण्डकीमा यसअघि पनि आएको थियो ठूलो बाढी
इसिमोडका अनुसार बूढीगण्डकी क्षेत्रमा सन् २०२४ को अप्रिलमा पनि ठूलो बाढीजन्य घटना भएको थियो। त्यतिबेला मनास्लु हिमनदीको अग्रभागबाट विशाल हिमपहिरो खसेर वीरेन्द्र तालमा पुगेपछि तालको पानी विस्थापित भई अचानक बाहिर निस्किएको थियो। त्यसबाट बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको थियो।
इसिमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले उक्त घटनालाई हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) नभई हिमपहिरोका कारण तालको पानी बाहिर निस्कँदा उत्पन्न भएको बाढीका रूपमा व्याख्या गरेको थियो।
इसिमोडका विज्ञहरूका अनुसार भिरालो हिमाली भूभागमा पहिरोको सम्भावना भएका क्षेत्र र नदी प्रणालीको एकीकृत निगरानी आवश्यक छ। जोखिम मूल्यांकन, पूर्वाधार निर्माण तथा पुनःस्थापनाका योजना बनाउँदा प्राकृतिक जोखिम, त्यसका कारण र तल्लो तटीय क्षेत्रमा पर्न सक्ने प्रभावलाई एकसाथ विचार गर्नुपर्नेमा संस्थाले जोड दिएको छ।
