आँबुखैरेनीमा सयपत्री खेती, महिला आत्मनिर्भर बन्दै
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकमा व्यावसायिक सयपत्री फूलखेतीले गति लिएको छ। तीन वर्षअघि सुरु गरिएको फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ। यसबाट स्थानीय ४५ महिला उद्यमशीलतासँग जोडिँदै आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढेका छन्।
दशैंको समयमा सयपत्री फूलको माग बढेसँगै स्थानीय महिला फूल टिप्ने र बिक्री गर्ने काममा व्यस्त छन्। पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि समूहमा थप उत्साह बढेको छ।
महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार शनिबारदेखि फूल टिपेर बजारमा पठाउन थालिएको हो। दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गरेपछि बिक्री प्रक्रिया अघि बढाइएको उनले बताइन्।
“स्थानीयस्तरमै उत्पादन भएको फूल बिक्री गरेर आम्दानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ,” गुरुङले भनिन्।
महिलालाई सामूहिक उद्यममा सहभागी गराई स्थानीयस्तरमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले फूलखेती सुरु गरिएको हो। सामूहिक रूपमा खेती गर्दा काम बाँडफाँट गर्न, अनुभव साटासाट गर्न र उपलब्ध स्रोतसाधनको उपयोग गर्न सहज भएको समूहको भनाइ छ।
गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सके महिलाको आम्दानी थप बढाउन सकिन्छ। स्थानीयस्तरमै सयपत्री उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता पनि घटेको उनले बताइन्। यहाँ उत्पादित फूल प्रतिकिलो ४०० रुपैयाँसम्म बिक्री हुने गरेको छ।
आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले आँधीमूल यानचोकमा तीन वर्षदेखि सयपत्री फूलखेती हुँदै आएको जानकारी दिए। उनका अनुसार महिलाको सक्रिय सहभागितामा विस्तार भएको यस व्यवसायले उनीहरूलाई उत्पादनमूलक काममा जोड्नुका साथै आम्दानीको अवसर प्रदान गरेको छ।
“फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ। यहाँ उत्पादित फूलको बजारमा समस्या छैन,” केसीले भने।
स्थानीय उत्पादनको बजार सम्भावना राम्रो देखिएकाले फूलखेतीलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सकिने गाउँपालिकाको विश्वास छ। उत्पादन र बजार विस्तार गर्न सके यसले स्थानीय महिलाको आयआर्जन बढाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
