भेरी–बबई आयोजना तीन वर्षमा सक्ने तयारी, १५ वर्षमा ७० प्रतिशत मात्रै काम
सुर्खेत । सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर, निर्माण सुरु भएको १५ वर्ष बितिसक्दा आयोजनाको भौतिक प्रगति ७० प्रतिशतमा सीमित रहेकाले निर्धारित समयभित्र काम सक्ने चुनौती कायमै छ।
आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर भरत पाठकका अनुसार हालसम्म वित्तीय प्रगति ६७ प्रतिशत पुगेको छ। बाँकी काम २०८५ असारसम्म सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिने प्रयास भइरहेको उनले बताए।
‘बाँकी काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान छ। पछिल्लो समय निर्माणको गति बढाइएको छ,’ पाठकले भने।
आर्थिक वर्ष २०६८/६९ देखि अघि बढाइएको आयोजना विभिन्न चरणमा ढिलाइ हुँदै आएको छ। विशेषगरी बाँध, विद्युत्गृहलगायत मुख्य सिभिल संरचना निर्माणमा भएको ढिलाइले उपकरण जडान र अन्य कामसमेत प्रभावित भएका छन्।
सुरुङ तयार, मुख्य संरचना अझै अधुरै
आयोजनाको सबैभन्दा चुनौतीपूर्ण मानिएको १२.२० किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ। टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिबाट सुरुङ खन्ने काम निर्धारित समयभन्दा अगावै सकिएको थियो।
तर, सुरुङ निर्माणपछि अघि बढाइएको दोस्रो चरणको काम अपेक्षित गतिमा अगाडि बढ्न नसक्दा समग्र आयोजना प्रभावित भएको छ।
आयोजना पाँच प्रमुख निर्माण प्याकेजमा विभाजन गरिएको छ। पहिलो प्याकेजअन्तर्गत सुरुङ निर्माण सकिएको छ भने दोस्रो प्याकेजमा बाँध, सर्ज साफ्ट, पेनस्टक र विद्युत्गृहलगायत संरचना निर्माण गर्नुपर्नेछ।
तेस्रो प्याकेजमा हाइड्रोमेकानिकल संरचना र चौथो प्याकेजमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम समावेश छ। पाँचौँ प्याकेजअन्तर्गत उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण गरिनेछ।
मुख्य सिभिल संरचना तयार नहुँदा उपकरण जडान, परीक्षण र सञ्चालनको तयारी निर्धारित तालिकाअनुसार अघि बढाउन कठिन भएको आयोजनाले जनाएको छ।
बाँध र विद्युत्गृह निर्माणमा ढिलाइ
दोस्रो प्याकेजअन्तर्गत बाँधस्थल र विद्युत्गृहका सिभिल संरचना निर्माणको जिम्मा ग्वाङडोङ युआन्तियानररमन जेभीले लिएको छ। २०७६ साउन १३ गते सम्झौता भएको यस प्याकेजमा अपेक्षित प्रगति हुन सकेको छैन।
आयोजनाको विवरणअनुसार मुख्य बाँधका छवटा संरचनामध्ये दुईवटा सम्पन्न हुने चरणमा पुगेका छन्। सेटलिङ बेसिनको करिब ७० प्रतिशत निर्माण सकिएको छ। पेनस्टक पाइपका लागि एङ्कर ब्लक, विद्युत्गृह र सर्ज साफ्ट निर्माणको काम भने जारी छ।
यी संरचनाको निर्माणमा ढिलाइ हुँदा अन्य प्याकेजका काम पनि प्रभावित भएका छन्। त्यसैले बाँकी संरचना समयमै तयार पार्नु आयोजनाको मुख्य प्राथमिकता बनेको छ।
उपकरण जडानको काम पनि पूरा भएको छैन
हाइड्रोमेकानिकल संरचना निर्माणको जिम्मा चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङले लिएको छ। २०७८ मङ्सिर ६ गते सम्झौता गरिएको यस प्याकेजको लागत २ अर्ब १३ करोड ७४ लाख ९३ हजार रुपैयाँ छ।
२०८१ पुस ४ गतेभित्र सम्पन्न हुनुपर्ने यस प्याकेजको भौतिक प्रगति ६० प्रतिशत पुगेको आयोजनाको विवरणमा उल्लेख छ।
त्यस्तै, इलेक्ट्रोमेकानिकल उपकरण जडानको जिम्मासमेत झेजियाङ ओरिएन्ट इन्जिनियरिङले लिएको छ। ३ अर्ब २८ करोड रुपैयाँ लागत रहेको यस प्याकेजको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ।
टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर र ओभरहेड क्रेनको उत्पादन सम्पन्न भए पनि आयोजनास्थलमा उपकरण जडान, परीक्षण र सञ्चालनको तयारी गर्न बाँकी छ।
सिभिल संरचना निर्माण र उपकरण जडानका काम एकअर्कामा निर्भर रहेकाले कुनै एउटा चरणमा हुने ढिलाइले समग्र आयोजना सम्पन्न हुने समयलाई प्रभावित गर्ने देखिन्छ।
प्रसारण लाइन निर्माण पनि आवश्यक
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न छुट्टै प्रसारण लाइन निर्माण गर्नुपर्नेछ। योजनाअनुसार सुर्खेतको हात्तीखालस्थित विद्युत्गृहदेखि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनसम्म करिब एक हजार ७०० मिटर लामो लाइन निर्माण गरिनेछ।
प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर रहनेछन्। तीमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा र छवटा मध्यवर्ती क्षेत्रमा पर्ने विवरणमा उल्लेख छ।
निकुञ्ज क्षेत्रमा पर्ने संरचनाका कारण वातावरणीय अध्ययन तथा आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। प्रसारण लाइन निर्माणमा ढिलाइ भए विद्युत्गृहका संरचना तयार भए पनि उत्पादित विद्युत्लाई राष्ट्रिय प्रणालीमा जोड्न समस्या हुन सक्छ।
त्यसैले सिभिल संरचना निर्माण, उपकरण जडान र प्रसारण लाइनको कामलाई समानान्तर रूपमा अघि बढाउनु आयोजनाका लागि महत्त्वपूर्ण देखिएको छ।
५१ हजार हेक्टरमा सिँचाइ, ४६.८ मेगावाट विद्युत् उत्पादन
भेरी–बबई डाइभर्सन आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ। साथै, आयोजनाबाट ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ।
आयोजनाअन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–११ चिप्लेमा भेरी नदीमा बाँध निर्माण गरी पानीलाई सुरुङमार्फत बबई नदीमा खसालिनेछ। योजनाअनुसार ११४ मिटर लामो ब्यारेज, १५८ मिटर लामो डिसेन्डिङ बेसिन र ४.२ मिटर व्यासको सुरुङबाट प्रतिसेकेन्ड ४० घनमिटर पानी स्थानान्तरण गरिनेछ।
यसबाट सिँचाइमा सुधार आउनुका साथै कृषि उत्पादन र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको छ। किसानले वर्षायामको पानीमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम हुने र नियमित सिँचाइ उपलब्ध हुँदा खेतीपातीको अवसर विस्तार हुने लक्ष्य छ।
आयोजनाको अद्यावधिक गुरुयोजनाअनुसार कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजना सम्पन्न भएपछि विद्युत् उत्पादनबाट वार्षिक ४ अर्ब ३ करोड रुपैयाँ र सिँचाइ सुविधाबाट ३ अर्ब १२ करोड रुपैयाँ बराबरको आर्थिक लाभ प्राप्त हुने अनुमान छ। दुवै क्षेत्रबाट वार्षिक करिब ७ अर्ब १३ करोड रुपैयाँ बराबरको लाभ हासिल गर्ने लक्ष्य राखिएको छ।
लगानीको प्रतिफलका लागि समयमै सम्पन्न गर्नुपर्ने
भेरी–बबई डाइभर्सन आयोजना सिँचाइ र विद्युत् उत्पादन दुवैका दृष्टिले महत्त्वपूर्ण राष्ट्रिय परियोजना हो। तर, सुरुङ निर्माण पूरा भए पनि बाँध, विद्युत्गृह, उपकरण जडान र प्रसारण लाइनका काम बाँकी रहँदा आयोजनाबाट पूर्ण लाभ लिन अझै प्रतीक्षा गर्नुपर्ने अवस्था छ।
अबको तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य हासिल गर्न निर्माण व्यवसायीको कार्यसम्पादनमा सुधार, बाँकी संरचनाको निर्माणमा तीव्रता र विभिन्न प्याकेजबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ।
लामो समयदेखि निर्माणाधीन आयोजनाको बाँकी काम निर्धारित अवधिमा पूरा हुन सके मात्रै बाँके र बर्दियाका किसानले अपेक्षित सिँचाइ सुविधा पाउनेछन् भने विद्युत् उत्पादनबाट प्राप्त हुने आर्थिक लाभसमेत सुनिश्चित गर्न सकिनेछ।
