म्यानपावर छनोटमा नेपाल–मलेसिया विवाद, नयाँ श्रमिकको भिसा प्रक्रिया अवरुद्ध
काठमाडौं । म्यानपावर कम्पनी छनोट गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति जुट्न नसक्दा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी प्रक्रिया प्रभावित भएको छ। विवादका कारण नयाँ कामदारको स्वास्थ्य परीक्षण दर्ता र कलिङ भिसा जारी गर्ने प्रक्रिया रोकिएको हो।
मलेसिया सरकारको ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) ले गत असोज १५ गतेदेखि नयाँ श्रमिकको बायोमेडिकल दर्ता बन्द गरेको छ। उक्त प्रणाली सञ्चालन गर्ने कम्पनी वेस्टिनेट एसडीएनले मलेसियाले छनोट गरेका २५ मुख्य रिक्रुटमेन्ट एजेन्सी सक्रिय भएपछि मात्रै दर्ता प्रक्रिया पुनः सुरु हुने सर्त राखेको छ।
मलेसियाले गत भदौमा २५ मुख्य रिक्रुटमेन्ट एजेन्सी र तिनका मातहत रहने २५० सहायक एजेन्सी छनोट गरेको थियो। तर, नेपाल सरकारले ती कम्पनीलाई अनुमति नदिएपछि दुई देशबीचको विवाद थप चर्किएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर छनोट प्रक्रियाप्रति असहमति जनाउँदै आएको छ।
नेपालले विवाद समाधान नभएसम्म पुरानै प्रणालीअनुसार श्रमिक भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने अडान राखेको छ। यस विषयमा छलफल गर्न तथा दुई देशबीचको समझदारीपत्र (एमओयू) नवीकरण गर्न मन्त्रालयले संयुक्त कार्यदलको बैठकका लागि नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ को मिति प्रस्ताव गरेको छ।
तर, मलेसियाली पक्ष भने आफूले अघि सारेको संरचनाबाट पछि हट्ने पक्षमा देखिएको छैन। मलेसियाका श्रममन्त्री रमानन रामकृष्णानले नेपाली समकक्षी रामजी यादवलाई पत्र पठाउँदै २५ मुख्य एजेन्सी र तिनका मातहतमा १०–१० सहायक एजेन्सी रहने व्यवस्थाप्रति आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका छन्।
यसैबीच, विवाद समाधानका लागि कूटनीतिक प्रयास जारी रहँदा वैदेशिक रोजगार विभागले मलेसियाद्वारा सूचीकृत २५ म्यानपावर कम्पनीका सञ्चालकहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको छ। विभागले ३५ दिनभित्र सम्पर्कमा नआए बैंक खाता तथा यात्रा अनुमतिमा रोक लगाउन सकिने चेतावनी दिँदै सम्बन्धित कम्पनीहरूको अनुगमनसमेत थालेको छ।
मध्यपूर्वमा बढ्दो तनावका कारण खाडी मुलुकहरूमा नेपाली श्रमिकको माग घटिरहेका बेला मलेसियाको रोजगारीमा आएको अवरोधले वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई थप समस्यामा पारेको छ। गत आर्थिक वर्षमा मात्रै एक लाख ३२ हजार नेपाली रोजगारीका लागि मलेसिया पुगेका थिए।
हाल मलेसियामा करिब चार लाख नेपाली कार्यरत रहेको र नेपालमा भित्रिने कुल रेमिट्यान्सको झन्डै २० प्रतिशत हिस्सा उक्त मुलुकबाट आउने गरेको विवरण छ। यस्तो अवस्थामा नयाँ श्रमिक पठाउने प्रक्रिया अवरुद्ध हुँदा रोजगारीको अवसर र विप्रेषण प्रवाहमा समेत असर पर्न सक्ने देखिएको छ।
नेपाल र मलेसियाबीच म्यानपावर छनोटसम्बन्धी विवाद कहिले समाधान हुन्छ भन्ने टुंगो नलाग्दा नयाँ रोजगारीका लागि मलेसिया जान तयारी गरिरहेका श्रमिक अन्योलमा परेका छन्।
