अर्नब चक्रवातको असर घट्दै, देशभर मौसममा सुधार आउने अनुमान
काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपालनजिक विकसित न्यून चापीय क्षेत्रको प्रभाव क्रमशः कमजोर बन्दै गएको छ। यसको प्रभाव कम हुँदै गएसँगै देशभरको मौसममा पनि सुधार आउने संकेत देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै रहेकाले आगामी समयमा मौसम क्रमिक रूपमा सफा हुँदै जानेछ।
हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाको पूर्वानुमानअनुसार आज दिउँसो देशका अधिकांश स्थानमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
तराई, उपत्यका तथा खोँच क्षेत्रमा भने बिहानको समयमा केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
