१५० वर्षअघि लोप भएको ठानिएको विशाल सारस नेपालमा पनि पाइने पुष्टि
टर्कीको टोडुर्गे तालमा खिचिएको लक्ष्मण सारसको जोडी। तस्बिर स्रोत: Zeynel Cebeci/Wikimedia Commons
काठमाडौं । करिब डेढ सय वर्षअघि युरोपमा भेटिएका विशाल चराका हड्डीलाई वैज्ञानिकहरूले लोप भइसकेको छुट्टै प्रजातिको अवशेष मानेका थिए। तर हालै गरिएको आनुवांशिक अनुसन्धानले ती हड्डी अहिले पनि अस्तित्वमा रहेको लक्ष्मण सारसकै भएको पुष्टि गरेको छ। रोचक पक्ष के छ भने यही प्रजातिको चरा नेपालमा समेत पाइन्छ।
सन् १८७१ मा फ्रान्सेली जीवविज्ञ अल्फोन्स मिल्न–एडवर्ड्सले प्राचीन हड्डीका आधारमा उक्त चरालाई ‘ग्रुस प्रिमिजेनिया’ नाम दिएका थिए। त्यसयता यसलाई लोप भइसकेको विशाल सारस प्रजातिका रूपमा लिइँदै आएको थियो।
बेलायतको बोर्नमथ विश्वविद्यालयका प्राध्यापक जोन स्टुअर्टको नेतृत्वमा गरिएको अनुसन्धानले भने उक्त मान्यतालाई गलत सावित गरेको छ। वैज्ञानिकहरूले इंग्ल्यान्ड, वेल्स, फ्रान्स, जर्मनी र स्पेनका विभिन्न स्थानबाट प्राप्त १८ वटा प्राचीन हड्डीको डिएनए परीक्षण गरेका थिए। परीक्षणबाट ती सबै हड्डी अहिले पाइने लक्ष्मण सारस (Grus grus) कै भएको पुष्टि भएको हो।
अनुसन्धानअनुसार प्राचीन सारसका केही हड्डी अहिलेका चराको तुलनामा ठूला थिए। तर त्यो फरक अलग प्रजाति भएकाले नभई भाले र पोथीबीचको शारीरिक आकारमा हुने भिन्नताका कारण हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।
हजारौं वर्षअघि लक्ष्मण सारसको शरीर ठूलो हुनु र समयक्रममा आकार परिवर्तन हुनुको कारण भने अझै स्पष्ट हुन सकेको छैन। सिमसार क्षेत्रको विनाश तथा मानव गतिविधिका कारण बासस्थानमा आएको परिवर्तनले शरीरको आकारमा प्रभाव पारेको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ। यद्यपि यसबारे थप अध्ययन आवश्यक रहेको उनीहरूले बताएका छन्।
नेपालमा लक्ष्मण सारस स्थायी रूपमा बसोबास गर्ने चरा होइन। यो मुख्यतः बसाइँसराइका क्रममा नेपाल आउने र जाडोयाममा कहिलेकाहीँ देखिने आगन्तुक प्रजाति हो। नेपालको तराई, हेटौंडा, काठमाडौं उपत्यका, चितवन, बर्दिया, कोशी क्षेत्र तथा कालीगण्डकी उपत्यकामा यसको उपस्थिति अभिलेख गरिएको छ।
नेपालमा सामान्यतया सारस भनेर चिनिने सारस (Sarus Crane) र लक्ष्मण सारस फरक प्रजाति हुन्। लक्ष्मण सारसको वैज्ञानिक नाम Grus grus र अंग्रेजी नाम Common Crane हो।
वैज्ञानिक जर्नल ‘रोयल सोसाइटी ओपन साइन्स’ मा प्रकाशित उक्त अनुसन्धानले प्राचीन जीवको पहिचान गर्दा हड्डीको आकार मात्र पर्याप्त नहुने र डिएनए परीक्षणले थप विश्वसनीय प्रमाण उपलब्ध गराउने देखाएको छ।
यस अध्ययनले लोप भइसकेको ठानिएका अन्य प्राचीन जीवको पहिचानसमेत पुनः परीक्षण गर्नुपर्ने सम्भावनालाई उजागर गरेको छ। डेढ सय वर्षदेखि लोप भएको मानिएको विशाल सारस वास्तवमा अहिले पनि संसारका विभिन्न भागमा पाइने लक्ष्मण सारसकै प्राचीन सदस्य रहेको अनुसन्धानले देखाएको छ।
टर्कीको टोडुर्गे तालमा खिचिएको लक्ष्मण सारसको जोडी। तस्बिर स्रोत: Zeynel Cebeci/Wikimedia Commons
