पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भूभागमा मौसम बदली भएको छ। केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ भने आज पनि हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। सोमबार देशभर आंशिक रूपमा बादल लाग्नेछ।
आज हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ।
यसैबीच, बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ का कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको महाशाखाले स्पष्ट पारेको छ।
मौसम मोडल, भूउपग्रहबाट प्राप्त तस्बिर तथा तथ्याङ्कको विश्लेषणअनुसार आइतबार बिहान दक्षिणपश्चिम बंगालको खाडी तथा आसपासको मध्यपश्चिम बंगालको खाडीमा उक्त चक्रवाती प्रणाली विकसित भएको हो।
सोमबारसम्म यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुन सक्ने अनुमान गरिएको छ। पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको चक्रवात कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रस्थित नेल्लौर र नरसापुरबीचबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चक्रवातका कारण नेपालमा तत्काल ठूलो मौसमी प्रभाव नपर्ने अनुमान गरिए पनि देशका विभिन्न क्षेत्रमा पश्चिमी वायुको प्रभाव भने कायम रहनेछ।
