देउवा पक्षबाट नेविसंघ अध्यक्षको जिम्मेवारी सृजना मल्ललाई
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को अध्यक्षमा पर्वतकी सृजना मल्ललाई मनोनयन गरेको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले कात्तिक १२ गते मनोनयन पत्र हस्तान्तरण गर्दै मल्ललाई अध्यक्षको जिम्मेवारी दिइएको जानकारी गराएका हुन्।
पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ को उपधारा १ (च) अनुसार मल्ललाई उक्त पदमा मनोनयन गरिएको पत्रमा उल्लेख छ।
नवनियुक्त अध्यक्ष मल्ललाई आगामी छ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको छ। संयोजक कोइरालाले हस्ताक्षर गरेको पत्रमा नेपाली कांग्रेसका स्थापित मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गरी सङ्गठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
