तिहारलाई लक्षित गर्दै पोखरा झर्यो हिमाली भेँडाच्याङ्ग्राको बथान
पोखरा । तिहार नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारीहरू पोखरा झर्न थालेका छन्। मुस्ताङ, डोल्पा र मुगुलगायतका जिल्लाबाट ल्याइएका भेँडाच्याङ्ग्रा पोखरा महानगरपालिका–१ सिमपानी क्षेत्रमा बिक्रीका लागि राखिएका छन्।
दसैँको तुलनामा तिहारमा च्याङ्ग्राको माग कम हुने भए पनि यस वर्ष पोखरामा अघिल्ला वर्षको तुलनामा बढी संख्यामा भेँडाच्याङ्ग्रा भित्रिएको व्यापारीहरूले बताएका छन्।
मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङका अनुसार मुस्ताङबाट यसपटक करिब १ हजार २०० च्याङ्ग्रा बाहिरिएका छन्। तीमध्ये ७०० पोखरा र ५०० काठमाडौं लगिएको छ।
उनका अनुसार रोजाइअनुसारका च्याङ्ग्राको मूल्य करिब ४० हजार रुपैयाँसम्म पर्छ। आकार र गुणस्तरअनुसार त्यसभन्दा कम मूल्यका च्याङ्ग्रा पनि बिक्रीमा छन्।
छिरिङले साथी निरज थकालीसँग मिलेर तिहारका लागि ५५ वटा च्याङ्ग्रा पोखरा ल्याएका छन्। दसैँमा भने उनले ३०० भन्दा बढी च्याङ्ग्रा बिक्री गरेका थिए।
‘दसैँमा च्याङ्ग्राको व्यापार राम्रो भयो। फूलपातीपछि माग धान्नसमेत कठिन भएको थियो,’ उनले भने, ‘तिहारमा माग केही कम हुन्छ, तर यसपालि पोखरामा च्याङ्ग्रा आउने संख्या अघिल्ला वर्षभन्दा बढेको छ।’
सिमपानीमा बढ्यो कारोबार
हाल सिमपानी क्षेत्रमा सात–आठ स्थानबाट भेँडाच्याङ्ग्राको कारोबार भइरहेको छ। हिमाली क्षेत्रबाट व्यापारीहरू लामो दूरी पार गरेर चाडपर्वको बजारलाई लक्षित गर्दै पोखरा आएका हुन्।
मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम पनि सुर्खेत हुँदै भेँडाच्याङ्ग्रा लिएर पोखरा आइपुगेका छन्। उनका बथानमा अधिकांश भेँडा र साँढ छन् भने केही च्याङ्ग्रा पनि छन्।
मुगुदेखि पोखरासम्म आइपुग्न उनलाई चार दिन लागेको छ।
‘दसैँमा पनि च्याङ्ग्रा ल्याएर बेचेँ। पोखरा आउन थालेको पाँच–छ वर्ष भयो,’ भामले भने, ‘गत वर्ष केही घाटा भयो, तर यसपालिको दसैँमा व्यापार राम्रो भयो। तिहारको आम्दानी कस्तो हुन्छ हेर्न बाँकी छ।’
उनका अनुसार दसैँ–तिहारको समयमा एउटा व्यापारीले करिब डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने अवस्था हुन्छ। यद्यपि हिमाली क्षेत्रबाट पशु ल्याउँदा ढुवानी, खाना र बसोबासमा ठूलो खर्च हुने गरेको व्यापारीहरू बताउँछन्।
पुर्ख्यौली व्यवसायसँगै आम्दानीको आधार
डोल्पाका सन्तोष धराला पनि १५० वटा च्याङ्ग्रा लिएर पोखरा आएका छन्। उनी विगत तीन वर्षदेखि चाडपर्वको समयमा च्याङ्ग्रा बिक्री गर्न पोखरा आउने गरेका छन्।
‘च्याङ्ग्राका लागि घाँस र चरण क्षेत्र पाइने भएकाले पोखरा ल्याउन सहज हुन्छ,’ धरालाले भने, ‘यो नै मुख्य व्यवसाय भएकाले घाटा–नाफा जे भए पनि निरन्तरता दिँदै आएको छु।’
चाडपर्वका समयमा च्याङ्ग्रा बिक्री गर्ने व्यवसायले हिमाली क्षेत्रका पशुपालक तथा व्यापारीको पुर्ख्यौली पेशालाई निरन्तरता दिन सहयोग पुगेको उनीहरूको भनाइ छ। अर्कोतर्फ दसैँ–तिहारमा च्याङ्ग्राको मासु खोज्ने उपभोक्ताको माग पनि यसै व्यवसायले पूरा गर्दै आएको छ।
मुस्ताङदेखि काठमाडौंसम्म पुग्छन् च्याङ्ग्रा
दसैँ–तिहारका समयमा देशका विभिन्न जिल्लाका व्यापारी च्याङ्ग्रा खरिद गर्न मुस्ताङ पुग्ने गर्छन्। जोमसोम, कागबेनी, चमरलगायत क्षेत्रबाट खरिद गरिएका च्याङ्ग्रा म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा ल्याइन्छ।
मुस्ताङदेखि पोखरा हुँदै काठमाडौंसम्म च्याङ्ग्रा लैजान सामान्यतया ट्रकको प्रयोग गरिन्छ। केही व्यापारी भने बथानलाई हिँडाउँदै पोखरासम्म ल्याउने गर्छन्। यस क्रममा उनीहरूले निकै लामो र कठिन यात्रा पार गर्नुपर्ने हुन्छ।
पोखरा हुँदै काठमाडौंसम्म पुग्ने मुस्ताङी च्याङ्ग्राको बजार विशेषगरी दसैँमा उच्च हुने गरेको व्यापारीहरू बताउँछन्।
चाडपर्वसँग जोडिएको विशेष परिकार
वर्षभरि विभिन्न किसिमका मासुजन्य परिकार उपलब्ध भए पनि च्याङ्ग्राको मासुका लागि उपभोक्ताले विशेषगरी दसैँ–तिहार कुर्ने गरेका छन्।
हिमाली क्षेत्रको चिसो हावापानी र प्राकृतिक चरनमा हुर्किएका च्याङ्ग्रा स्वादिलो तथा स्वस्थकर हुने विश्वासका कारण चाडपर्वमा यसको माग बढ्ने गरेको व्यापारीहरूको भनाइ छ।
यसरी हिमाली गाउँबाट सहरसम्म आइपुग्ने भेँडाच्याङ्ग्राले एकातर्फ चाडपर्वको बजार माग पूरा गरिरहेको छ भने अर्कोतर्फ हिमाली क्षेत्रका पशुपालक र व्यापारीका लागि आम्दानीको महत्वपूर्ण स्रोतसमेत बनेको छ।
