पर्यटनको सम्भावना बोकेको छेडेदह ताल पहिरोको जोखिममा, संरक्षणमा जग्गा विवाद बाधक
बाजुरा — प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पदयात्राको सम्भावना बोकेको बाजुराको छेडेदह ताल अहिले संरक्षणको अभावमा जोखिममा परेको छ। खप्तड छेडेदह गाउँपालिका–४ र ७ को बीचमा रहेको तालको किनारसम्म पहिरो पुगेपछि यसको पर्यटकीय भविष्यसमेत चिन्ताको विषय बनेको छ।
स्थानीयले ‘प्रेम ताल’समेत भन्ने गरेको छेडेदहमा पछिल्लो समय बझाङ, अछामलगायत आसपासका जिल्लाबाट पर्यटक तथा धार्मिक यात्रु पुग्ने गरेका छन्। तर ताल संरक्षणका लागि आवश्यक काम अघि बढ्न नसक्दा प्राकृतिक आकर्षणका रूपमा विकास भइरहेको यो गन्तव्य जोखिममा परेको हो।
ताल नजिकै रहेको पड्नापानी क्षेत्रमा गएको पहिरोले हालसम्म करिब ७० परिवारको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। पहिरो तालको किनारसम्म पुगेकाले तत्काल नियन्त्रणका उपाय नअपनाए तालको संरचना प्रभावित हुने र तल्लो क्षेत्रमा समेत जोखिम बढ्न सक्ने स्थानीयको भनाइ छ।
स्थानीय राजेश सुनारका अनुसार पहिरो क्रमशः तालतर्फ बढिरहेको छ। ‘पहिरोतालको छेउमै पुगेको छ। समयमै रोकथाम नगरे तालको अस्तित्वमै असर पर्न सक्छ,’ उनले भने।
जग्गा विवादले रोकियो पर्यटन पूर्वाधार
ताल संरक्षण र पर्यटन विकासका लागि काम गर्ने तयारी भए पनि आसपासको जग्गासम्बन्धी विवाद मुख्य अवरोध बनेको छ। ताल क्षेत्र खप्तड छेडेदह–४ र ७ का स्थानीयको दाबीमा रहेकाले गाउँपालिकाले संरक्षण तथा पूर्वाधार निर्माण अघि बढाउन कठिनाइ भइरहेको जनाएको छ।
वडा नम्बर ४ का अध्यक्ष दलबहादुर धामीका अनुसार जग्गा विवाद समाधान नभएसम्म तालको व्यवस्थित व्यवस्थापन र पर्यटकीय विकासका काम प्रभावकारी रूपमा अघि बढाउन समस्या छ।
स्थानीय जग्गाधनीले ताल आसपासको जमिन नापजाँच गरी आफूहरूलाई मुआब्जा उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्। विवाद समाधानका लागि स्थानीय तहले पटक–पटक छलफल गरे पनि अहिलेसम्म ठोस सहमति बन्न सकेको छैन।
गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले ताल संरक्षणलाई प्राथमिकतामा राखेर विवाद समाधानको पहल भइरहेको बताए। उनका अनुसार पहिरो नियन्त्रणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिसकेको छ। तर जग्गा विवादका कारण ताल संरक्षण तथा पर्यटन विकाससम्बन्धी विस्तृत योजना अघि बढाउन कठिनाइ भएको छ।
खप्तड–रारा पर्यटनसँग जोड्न सकिने सम्भावना
छेडेदह तालको सबैभन्दा ठूलो सम्भावना यसको भौगोलिक अवस्थिति र आसपासका पर्यटकीय क्षेत्रसँगको सम्बन्ध हो। ताल खप्तड–जयबागेश्वरी–डोगडी–मार्तडी सडकखण्डको पहुँचमा छ। बझाङसँगको नजिकको सम्बन्ध तथा रारा–खप्तड पदयात्रा मार्गसँग जोड्न सकिने सम्भावनाले यसको पर्यटकीय महत्त्व थप बढाएको छ।
तालको छेउमा रहेको खापर मन्दिरले धार्मिक पर्यटनको सम्भावना पनि थपेको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक यात्रा, पदयात्रा र स्थानीय संस्कृति अनुभव गर्न चाहने पर्यटकका लागि छेडेदहलाई बहुआयामिक गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ।
स्थानीय गणेश बुढाका अनुसार ताललाई योजनाबद्ध रूपमा विकास गर्न सके यसले बाजुराको पर्यटन अर्थतन्त्रमा नयाँ अवसर सिर्जना गर्न सक्छ। ‘ताललाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सके स्थानीय रोजगारीदेखि होटल तथा होमस्टे व्यवसायसम्म विस्तार गर्न सकिन्छ,’ उनले बताए।
सुरक्षित पूर्वाधार आवश्यक
छेडेदहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुअघि यसको प्राकृतिक र वातावरणीय सुरक्षा सुनिश्चित गर्नुपर्ने देखिन्छ। पहिरो नियन्त्रण, तालको जलाधार संरक्षण र जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर मात्रै पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने स्थानीयको सुझाव छ।
तालसम्म पुग्ने सडक र पदमार्ग स्तरोन्नति, सुरक्षित पैदलमार्ग, विश्रामस्थल, खानेपानी, सार्वजनिक शौचालय, सूचना केन्द्र तथा संकेत बोर्ड निर्माण गर्नुपर्ने आवश्यकता छ। त्यस्तै फोहोर व्यवस्थापन र आपत्कालीन उद्धारको व्यवस्था पनि आवश्यक देखिन्छ।
पर्यटन पूर्वाधार निर्माण गर्दा तालको प्राकृतिक स्वरूपमा असर नपर्ने गरी वातावरणमैत्री संरचना बनाउनुपर्ने विज्ञ तथा स्थानीयको जोड छ। ताल वरपरको भू–क्षय नियन्त्रण, वृक्षरोपण र प्राकृतिक स्रोतको संरक्षणलाई पर्यटकीय विकास योजनासँगै अघि बढाउन सके दीर्घकालीन लाभ लिन सकिनेछ।
संरक्षण भए बाजुराको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्छ
छेडेदह ताल अहिले संकट र सम्भावनाको दोहोरो अवस्थाबाट गुज्रिरहेको छ। एकातर्फ पहिरोले तालको अस्तित्वमा जोखिम बढाएको छ भने अर्कोतर्फ यसको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र रणनीतिक अवस्थिति पर्यटन विकासका लागि बलियो आधार बनेका छन्।
गाउँपालिकाले जग्गा विवाद समाधान गरी पहिरो नियन्त्रण र ताल संरक्षणको कामलाई तीव्रता दिन सके छेडेदहलाई बाजुराको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ।
स्थानीयस्तरमा पर्यटन पूर्वाधार विस्तारसँगै होमस्टे, स्थानीय उत्पादनको बजारीकरण, धार्मिक पर्यटन र पदयात्रालाई जोड्न सके छेडेदह क्षेत्रले स्थानीय समुदायको आम्दानी र रोजगारी बढाउनसमेत योगदान पुर्याउन सक्छ।
त्यसैले अहिलेको प्राथमिकता केवल ताल जोगाउनु मात्र नभई ‘संरक्षणसँगै पर्यटन विकास’ को दीर्घकालीन अवधारणामा छेडेदहलाई अघि बढाउनु हो। समयमै पहिरो नियन्त्रण, जग्गा विवाद समाधान र वातावरणमैत्री पर्यटन योजना लागू गर्न सके छेडेदह ताल बाजुराको आकर्षक नयाँ गन्तव्य बन्न सक्ने देखिन्छ।
