साउण्ड सिस्टम र आधुनिक गीतको दबदबा, हराउँदै देउसीभैलोको मौलिक लय
बागलुङ । तिहारको पहिचानसँग जोडिएको देउसीभैलो पछिल्ला वर्षमा आधुनिकता र प्रविधिको प्रभावमा परेको छ। मादल, खैँजडी र बाँसुरीका परम्परागत धुनसँगै गुञ्जिने देउसीभैलोमा अहिले साउण्ड सिस्टम, आधुनिक गीत र लोकप्रिय संगीतको प्रयोग बढ्दै गएको छ।
तिहारको समयमा बागलुङ बजारका चोक, टोल र बस्तीमा देउसीभैलोको रौनक देखिए पनि यसको परम्परागत स्वरूप भने क्रमशः परिवर्तन हुँदै गएको स्थानीय बताउँछन्। पहिले स्थानीय बाजा बजाउँदै समूहमा गीत गाउँदै र नाच्दै देउसीभैलो खेल्ने चलन रहेकामा अहिले रेकर्ड गरिएका गीत बजाएर नाच्ने प्रवृत्ति बढेको छ।
लोकभाका र परम्परागत बाजा ओझेलमा
पुरानो पुस्ताले देउसीभैलोलाई मनोरञ्जनसँगै समाजका कथा, सुख–दुःख र समसामयिक विषय अभिव्यक्त गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आएको थियो। मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया तथा झ्याउरेजस्ता लोकभाकामा देउसीभैलो प्रस्तुत गरिन्थ्यो।
यस्ता गीत र नृत्यमा स्थानीय जीवनशैली, सामाजिक सम्बन्ध र समुदायका मौलिक संस्कार झल्किन्थे। तर नयाँ पुस्ताको रुचिमा आएको परिवर्तनसँगै ती भाका र नृत्यको प्रयोग घट्दै गएको छ।
स्थानीय प्रेम श्रेष्ठका अनुसार बाह्य संस्कृतिको प्रभावसँगै युवापुस्तामा आफ्नै मौलिक कला र संस्कृतिप्रति चासो घट्दा देउसीभैलोको परम्परागत पहिचान कमजोर हुँदै गएको हो।
उनले समयअनुसार परिवर्तन आवश्यक भए पनि पुरानो संस्कृति र लोकभाकालाई पूर्ण रूपमा विस्थापित हुन दिन नहुने बताए।
प्रविधिले बदलियो देउसीभैलोको शैली
देउसीभैलोमा प्रविधिको प्रयोगले कार्यक्रमलाई आकर्षक र मनोरञ्जनात्मक बनाए पनि यसले परम्परागत शैलीलाई भने पछाडि पार्न थालेको छ। ठूला साउण्ड सिस्टम र डिजिटल संगीतको प्रयोग बढेपछि स्थानीय बाजा तथा प्रत्यक्ष गायनको अभ्यास घट्दै गएको स्थानीयको अनुभव छ।
रबीप्रसाद शर्माले नयाँ प्रविधिको प्रयोगसँगै देखासिकी गर्ने प्रवृत्तिले पनि देउसीभैलोको मौलिकता प्रभावित भएको बताए। उनका अनुसार नयाँ पुस्तालाई परम्परागत गीत, बाजा र नृत्यसँग जोड्न सके मात्रै तिहारको सांस्कृतिक पक्षलाई निरन्तरता दिन सकिन्छ।
मौलिकता जोगाउन युवाको प्रयास
आधुनिकताको प्रभाव बढिरहेका बेला बागलुङका केही समूह भने पुरानो देउसीभैलोको स्वरूप जोगाउने अभियानमा सक्रिय छन्। भकुण्डे टोल समूहले पाका पुस्ताबाट पुराना गीत, भाका र नृत्य सिकेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले परम्परागत शैलीमै देउसीभैलो प्रस्तुत गर्दै आएको छ।
यस्ता प्रयासले हराउँदै गएका स्थानीय भाका र सांस्कृतिक अभ्यासलाई पुनर्जीवन दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सांस्कृतिक पहिचानसँग जोडिएको देउसीभैलो
देउसीभैलो केवल तिहारमा दक्षिणा सङ्कलन गर्ने वा मनोरञ्जन गर्ने माध्यम मात्र होइन। यो नेपाली समाजको सामूहिक भावना, लोककला, संगीत र सामाजिक सम्बन्ध अभिव्यक्त गर्ने महत्वपूर्ण सांस्कृतिक परम्परा हो।
त्यसैले आधुनिक प्रविधि र नयाँ पुस्ताको रुचिलाई स्वीकार गर्दै पुराना बाजा, लोकभाका र परम्परागत नृत्यलाई पनि देउसीभैलोमा समेट्नुपर्ने आवश्यकता देखिएको छ।
मौलिक संस्कृति जोगाउन परिवार, समुदाय, विद्यालय तथा स्थानीय तहबाटै नयाँ पुस्तालाई परम्परागत कला र संगीतसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न सके देउसीभैलोको सांस्कृतिक पहिचान आगामी पुस्तासम्म पुर्याउन सकिने स्थानीयको भनाइ छ।
