राप्ती नदीमा ४८ किमि तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण
दाङ । पश्चिम राप्ती नदीको कटान र बाढीबाट खेतीयोग्य जमिन तथा बस्ती जोगाउने उद्देश्यले नदी किनारमा तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हालसम्म राप्ती नदीका विभिन्न खण्डमा ४८ किलोमिटर तटबन्ध निर्माण भइसकेको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, लमहीका अनुसार तटबन्ध निर्माणपछि करिब १ हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको छ।
दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सीमासम्म पश्चिम राप्ती नदीको लम्बाइ १५७.६ किलोमिटर छ। नदीको जोखिमयुक्त क्षेत्रमा क्रमशः तटबन्ध निर्माण गर्दै बाढी तथा कटान नियन्त्रणको काम अघि बढाइएको आयोजनाका सूचना अधिकारी खुमानन्द वलीले जानकारी दिए।
एक वर्षमै थप ५.६१ किलोमिटर तटबन्ध
गत आर्थिक वर्षमा मात्रै पश्चिम राप्ती नदीमा ५.६१ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। उक्त संरचनाबाट थप १६८ हेक्टर खेतीयोग्य जमिन संरक्षण तथा उकास भएको आयोजनाले जनाएको छ।
नदी कटान नियन्त्रणका लागि गढवा–६ जेठानगाउँ र गढवा–३ उल्टिसोटा खोलालगायतका क्षेत्रमा आपत्कालीन नदी नियन्त्रणका कामसमेत सम्पन्न भएका छन्।
जेठानगाउँ क्षेत्रमा ४३ लाख २३ हजार ५५५ रुपैयाँ तथा उल्टिसोटा खोलामा १२ लाख ८८ हजार २८७ रुपैयाँ बराबरको आपत्कालीन नदी नियन्त्रण कार्य सम्पन्न भएको छ।
त्यसैगरी प्रगन्ना सिँचाइअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न खण्ड तथा रनियापुर–छिङ्गतपुर क्षेत्रमा पनि तटबन्ध निर्माणका काम सम्पन्न भएका छन्।
एक अर्बभन्दा बढीका आयोजना कार्यान्वयनमा
पश्चिम राप्ती नदीको दाङ र बाँके खण्डमा मात्रै १ अर्ब २२ करोड १० लाख ५१ हजार रुपैयाँ बराबरका तटबन्ध निर्माणसम्बन्धी ठेक्का सम्पन्न भइसकेका छन्।
लमही–५ सोनारपुर क्षेत्रमा १० करोड ११ लाख ६६ हजार ९६४ रुपैयाँको ठेक्कामा हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ। त्यस्तै गढवा–१ अडेहरीदेखि जेठानगाउँसम्मको खण्डमा ५ करोड ३२ लाख ३८ हजार रुपैयाँको आयोजनामा ४८.७० प्रतिशत काम पूरा भएको छ।
बाँकेको राप्ती सोनारी–७ खुल्ला झगडिया क्षेत्रमा ४ करोड १५ लाख २५ हजार रुपैयाँको ठेक्कामा ७० प्रतिशत तथा राप्ती सोनारी–६ ढलैयामा ८२ लाख ४२ हजार ९२ रुपैयाँको ठेक्कामा ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।
२३ किलोमिटर तटबन्ध बनाउने लक्ष्य
राप्ती नदीको बाढीबाट बस्ती र खेतीयोग्य जमिनमा हुने क्षति न्यूनीकरणका लागि मुख्य इन्टेक भालुवाङदेखि सक्लाहीसम्म १५.९९६ किलोमिटर तटबन्ध निर्माण भइसकेको छ।
यस क्षेत्रमा भविष्यमा थप संरचना निर्माण गर्दै कुल २३ किलोमिटर तटबन्ध पूरा गर्ने लक्ष्य राखिएको छ।
राप्ती नदीमा तटबन्ध निर्माणसँगै नदी कटान नियन्त्रण, खेतीयोग्य जमिन संरक्षण र बाढीको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। दीर्घकालीन रूपमा नदी व्यवस्थापनलाई प्रभावकारी बनाउन तटबन्धसँगै नदीको प्राकृतिक बहाव, जलाधार संरक्षण र जोखिमयुक्त बस्तीको व्यवस्थित व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने देखिन्छ।
