भारत भ्रमणमा नेपाली पर्यटकको संख्या बढ्यो, नेपाल टप टेनमा
काठमाडौं । भारत भ्रमण गर्ने विदेशी पर्यटकको प्रमुख स्रोत मुलुकको सूचीमा नेपाल १०औं स्थानमा परेको छ। सन् २०२५ मा नेपालबाट २ लाख १८ हजार ६ सय ४१ पर्यटक भारत पुगेका छन्।
भारतीय पर्यटन मन्त्रालयको तथ्यांकअनुसार सन् २०२५ मा भारतले कुल ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई स्वागत गरेको थियो। त्यसमा नेपाली पर्यटकको हिस्सा २.४ प्रतिशत रहेको छ।
भारत भ्रमण गर्ने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा पनि बढेको देखिन्छ। सन् २०२४ मा २ लाख २ हजार ५ सय १ नेपाली भारत पुगेका थिए। उक्त वर्ष नेपाल भारत भ्रमण गर्ने पर्यटकको सूचीमा ११औं स्थानमा थियो।
धार्मिकदेखि स्वास्थ्य पर्यटनसम्म
नेपालबाट भारत जाने पर्यटकका प्रमुख उद्देश्यमा धार्मिक यात्रा, स्वास्थ्योपचार तथा घुमफिर रहेका छन्। भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक गन्तव्य नेपालीका लागि लामो समयदेखि लोकप्रिय छन्। त्यस्तै, उपचारका लागि समेत भारत जाने नेपालीको संख्या उल्लेख्य रहेको छ।
तथ्यांकले नेपाली पर्यटकका लागि भारतको पर्यटन सिजन पनि निश्चित रहेको देखाएको छ। नेपाली पर्यटक भारत जाने सबैभन्दा व्यस्त महिना सेप्टेम्बर रहेको छ भने मे महिनामा तुलनात्मक रूपमा कम पर्यटक जाने गरेका छन्।
अमेरिका शीर्ष स्थानमा
सन् २०२५ मा भारत भ्रमण गर्ने विदेशी पर्यटकको सूचीमा अमेरिका पहिलो स्थानमा रहेको छ। अमेरिकाबाट १८ लाख ८१ हजार ७ सय ७२ पर्यटक भारत पुगेका थिए।
दोस्रो स्थानमा बेलायत रहेको छ। बेलायतबाट १० लाख ८४ हजार ३ सय १० पर्यटक भारत पुगेका छन्। अस्ट्रेलियाबाट ५ लाख ४५ हजार ४ सय ३८ र क्यानडाबाट ५ लाख ४४ हजार ३ सय २६ पर्यटक भारत पुगेका छन्।
छिमेकी मुलुक बंगलादेशबाट ४ लाख ६८ हजार ६ सय २१ पर्यटक भारत पुगेका छन्। यद्यपि, बंगलादेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य घटेको छ। सन् २०२४ मा १७ लाख ५० हजार १ सय ६५ बंगलादेशी भारत पुगेका थिए।
