जनकपुर–अयोध्या रेल सेवाले जोडिँदै दुई धार्मिक धाम, हप्तामा दुई दिन आवतजावत
काठमाडौं — नेपाल र भारतका दुई प्रमुख धार्मिक तथा सांस्कृतिक गन्तव्य जनकपुरधाम र अयोध्या अब प्रत्यक्ष रेल सेवाबाट जोडिने भएका छन्।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको शुभारम्भ गर्ने तयारी भएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत जाने कार्यक्रम छ भने त्यसको भोलिपल्ट मंसिर ७ गते सोमबार अयोध्याबाट जनकपुरधामतर्फ पहिलो रेल सञ्चालन गरिनेछ।
रामायणसँग जोडिएका जनकपुरधाम र अयोध्याबीचको धार्मिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले सुरु गर्न लागिएको रेल सेवाले दुई देशबीच धार्मिक पर्यटन तथा जनस्तरको आवागमन विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रारम्भिक चरणमा रेल सेवा सातामा दुई दिशामा मात्र सञ्चालन हुनेछ। जनकपुरधामबाट शनिबार अयोध्याका लागि रेल छुट्नेछ भने अयोध्याबाट सोमबार जनकपुरधामतर्फ रेल चल्नेछ।
जनकपुरधामबाट गोरखपुर हुँदै अयोध्याधामसम्मको रेल यात्रा करिब ६०४ किलोमिटरको हुनेछ। यात्राका क्रममा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुरलगायतका स्टेशन पर्नेछन्।
भारतको रेलवे मन्त्रालयले जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान रामको जन्मभूमिका रूपमा उल्लेख गर्दै यी दुई धार्मिकस्थलबीचको यातायात सम्पर्कलाई विशेष महत्व दिएको जनाएको छ।
यसअघि नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिश्रीको उपस्थितिमा जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनको परीक्षण गरिएको थियो। नेपालले आफ्नै व्यवस्थापनमा सेवा सञ्चालन गर्न आवश्यक तयारी पूरा नगरेसम्म भारतीय रेलमार्फत नै सेवा सञ्चालन गर्ने सहमति भएको छ।
सुरुआती चरणमा भारतीय पक्षले रेल सञ्चालन गर्ने भएकाले टिकटको मूल्य निर्धारणसमेत भारतीय पक्षबाटै गरिने बताइएको छ। १७ कोच क्षमताको रेल सञ्चालनको तयारीले जनकपुरधाम र अयोध्याबीच धार्मिक यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
