करोडौँ लगानीको कान्ति ताल संरक्षणविहीन, पर्यटकीय सम्भावना ओझेलमा
बाँके । नेपालगन्जको पर्यटकीय सम्भावना बोकेको कान्ति ताल संरक्षण र नियमित व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्च गरिएको ताल परिसरका पूर्वाधार अहिले भत्किन थालेका छन् भने झाडी र बुट्यानले क्षेत्र ढाक्दै गएपछि तालको आकर्षणसमेत घट्दै गएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रेलिङलगायत विभिन्न संरचना निर्माण गरिएका थिए । तर, समयमै मर्मतसम्भार र रेखदेख हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएका छन् ।
ठूलो सरकारी लगानीमा तयार गरिएको पर्यटकीय पूर्वाधारको संरक्षण नहुँदा अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको स्थानीयको गुनासो छ ।
पूर्वाधार भत्किँदा पर्यटनमा असर
नेपालगन्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाका अनुसार तालको संरक्षणमा ध्यान नदिँदा पर्यटकीय क्षेत्रको स्वरूप नै बिग्रँदै गएको छ ।
ताललाई पर्यटकीयस्थल बनाउने उद्देश्यले ठूलो रकम खर्च भए पनि अहिले संरचना भत्किने र झाडी बढ्ने अवस्था आएको उनको भनाइ छ । सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि प्रभावकारी संरक्षण हुन नसकेको उनले बताए ।
कान्ति तालको महत्व पर्यटनमा मात्र सीमित नभएको स्थानीयको भनाइ छ । ताल आसपास विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेकाले यसको संरक्षणले पर्यटनसँगै जैविक विविधता जोगाउनसमेत योगदान पुर्याउन सक्छ ।
चराचुरुङ्गीको बासस्थान पनि संकटमा
पर्यावरण तथा चरा संरक्षणमा सक्रिय अभियन्ताहरूले तालको प्राकृतिक स्वरूप जोगाउनुपर्ने माग गर्दै आएका छन् । ताल क्षेत्रको उचित व्यवस्थापन हुन नसके जलचर तथा चराचुरुङ्गीको बासस्थानमा समेत असर पर्न सक्ने उनीहरूको चिन्ता छ ।
प्राकृतिक वातावरण र पर्यटकीय पूर्वाधारलाई एकसाथ व्यवस्थित गर्न सके कान्ति ताल नेपालगन्जको महत्वपूर्ण घुम्ने गन्तव्य बन्न सक्ने सम्भावना छ ।
तोडफोडले थप समस्या
ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने सम्झौतामा जिम्मेवारी लिएका फनबहादुर गुरुङले पनि परिसरका विभिन्न संरचनामा क्षति पुगेको बताए ।
उनका अनुसार रेलिङलगायतका संरचना तोडफोड भएका छन् । केही संरचना लागुऔषध प्रयोगकर्ताबाट क्षति पुर्याइएको हुन सक्ने आशंका गरिएको छ । ताल क्षेत्रको सुरक्षा, नियमित निगरानी र संरचनाको संरक्षणका लागि प्रभावकारी व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।
पुरानो योजनाले दिएन अपेक्षित परिणाम
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षाअनुसार परिणाम दिन नसकेको स्वीकार गरेका छन् ।
उनका अनुसार अब सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरी कान्ति तालको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना तयार गर्ने तयारी भइरहेको छ ।
तर, नयाँ योजना बनाउने तयारी भइरहँदा यसअघि खर्च भएको ठूलो रकम र निर्माण भएका संरचनाको संरक्षण हुन नसकेको विषयमा प्रश्न उठेको छ । करिब सात वर्षअघि सुरु भएको विकास योजनाले अपेक्षित गति लिन नसक्दा लगानी नै जोखिममा परेको स्थानीयको भनाइ छ ।
नेपालगन्जको पर्यटनसँग जोडिएको सम्भावना
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले कान्ति ताललाई जीर्ण अवस्थामा छाड्न नहुने बताए । उनका अनुसार ताललाई व्यवस्थित गर्न सके यसले नेपालगन्जको पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढाउन पनि सहयोग पुर्याउन सक्छ ।
तालको प्राकृतिक स्वरूप संरक्षण गर्दै जीर्ण पूर्वाधार मर्मत, सरसफाइ, सुरक्षा, हरियाली व्यवस्थापन र पर्यटकमैत्री सुविधा थप्न सके कान्ति ताललाई नेपालगन्जको प्रमुख आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।
कान्ति तालमा गरिएको विगतको लगानीलाई संरक्षण गर्दै नयाँ व्यवस्थापन मोडल अघि बढाउन सके तालले पर्यटन, वातावरण र स्थानीय अर्थतन्त्रलाई एकसाथ जोड्ने अवसर दिन सक्छ । त्यसका लागि भने तत्काल संरक्षण र दीर्घकालीन व्यवस्थापन योजना आवश्यक देखिएको छ ।
