मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
काठमाडौं — मलेसिया रोजगारीका नाममा श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकम विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरेको हो। उनीहरूसँगै तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको हो।
काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जीको अनुमति लिएपछि प्रहरीले काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकामाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारी तथा कानुनी व्यवस्थाविपरीत श्रमिकबाट संकलित रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ मलेसिया पठाउने निर्णय भएको थियो। नेपाली रुपैयाँमा उक्त रकम करिब १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
सम्झौताको सीमा र कानुनी प्रक्रिया उल्लंघन गर्दै अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरूको भूमिका रहेको आरोप सीआईबीको छ।
त्यस्तै, श्रमिकलाई संगठित रूपमा ठगी भइरहेको विषयमा आवश्यक कानुनी पहल नगरेको र गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णयमा संलग्न रहेको विषयलाई समेत अनुसन्धानको दायरामा राखिएको प्रहरीले जनाएको छ।
यस प्रकरणमा ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट रकम असुली गरी विदेश पठाइएको विषयलाई प्रहरीले मुख्य अनुसन्धानका रूपमा अघि बढाएको छ।
