धान–गहुँभन्दा उखुमा बढी प्रतिफल देखेपछि कञ्चनपुरका किसान व्यावसायिक खेतीतर्फ
कञ्चनपुर । कञ्चनपुरका किसान परम्परागत धान र गहुँ खेतीबाट विस्तारै उखु खेतीतर्फ सर्न थालेका छन्। कम मेहनत र तुलनात्मक रूपमा बढी आम्दानी हुने देखिएपछि जिल्लामा उखुको व्यावसायिक खेती विस्तार हुँदै गएको हो।
भीमदत्त नगरपालिका–७ का धनसिंह ठगुन्ना यसको उदाहरण हुन्। परम्परागत खाद्यान्न बालीबाट अपेक्षित आम्दानी नभएपछि उनले अन्य दुई किसानसँग मिलेर जग्गा भाडामा लिई उखु खेती सुरु गरेका थिए। दुई बिघाबाट सुरु गरेको खेती अहिले १२ बिघासम्म विस्तार भएको उनले बताए।
ठगुन्नाका अनुसार धान र गहुँ खेतीबाट सबै खर्च कटाएर एक बिघामा बढीमा करिब ४० हजार रुपैयाँ आम्दानी हुन्छ। उखु खेतीमा भने उत्पादन राम्रो भए एक बिघाबाट खर्च कटाएर तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको अनुभव छ।
‘उखु खेतीमा तुलनात्मक रूपमा कम लगानी र मेहनतमा राम्रो प्रतिफल पाइन्छ,’ उनले भने, ‘उत्पादन भएपछि बिक्रीका लागि पनि बजारको समस्या छैन।’
उखुको अर्को फाइदा एउटै रोपाइँबाट लगातार उत्पादन लिन सकिनु रहेको किसान बताउँछन्। पहिलो वर्ष रोपिएको उखुको जराबाट पलाउने मुनाबाट दोस्रो र तेस्रो सिजनमा समेत उत्पादन लिन सकिने भएकाले हरेक वर्ष नयाँ बीउ र रोपाइँमा ठूलो खर्च गर्नुपर्ने अवस्था हुँदैन। यसले उत्पादन लागत घटाउन सहयोग पुग्ने किसानको भनाइ छ।
ठगुन्नाले पहिलो सिजनमा सबै खर्च कटाएर एक बिघाबाट करिब एक लाख रुपैयाँ आम्दानी हुने गरेको बताए। उनले प्रतिकट्ठा वार्षिक दुई हजार रुपैयाँका दरले १२ बिघा जग्गा भाडामा लिएर उखु खेती गरिरहेका छन्।
यहाँ उत्पादन भएको उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुने गरेको छ। किसानलाई उखु खेतीमा आकर्षित गर्न मिलले बीउ तथा कीटनाशक औषधिसमेत उपलब्ध गराउने गरेको ठगुन्नाले बताए।
कञ्चनपुरकै स्थानीय किसान तारा महरा पनि तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा संलग्न छन्। उनका अनुसार धान–गहुँको तुलनामा उखुबाट बढी फाइदा हुने देखिएपछि खेतीको क्षेत्रफल बढाउँदै लगिएको हो।
हाल दुई बिघामा बिक्रीका लागि उखु तयार भएको र थप १० बिघामा नयाँ बीउ रोप्ने काम भइरहेको उनले बताए। उखु खेतीका कारण स्थानीयस्तरमै रोजगारीको अवसरसमेत सिर्जना भएको छ। महराका अनुसार उखु खेतीको मुख्य सिजनमा २० देखि २५ जनासम्मले काम पाउने गरेका छन्।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लामा अहिले पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती भइरहेको छ। उक्त क्षेत्रफलबाट वार्षिक तीन लाख ४५ हजार २६० मेट्रिक टन उखु उत्पादन हुने गरेको छ। जिल्लामा उखुको उत्पादकत्व प्रतिहेक्टर ६१ मेट्रिक टन रहेको केन्द्रको तथ्याङ्क छ।
उखु खेतीबाट खाद्यान्न बालीभन्दा बढी आम्दानी, उत्पादनपछिको सुनिश्चित बजार र एउटै रोपाइँबाट धेरै सिजन उत्पादन लिन सकिने भएपछि कञ्चनपुरमा किसानको उखुप्रतिको आकर्षण बढ्दै गएको देखिन्छ।
