चितवन राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटक चहलपहल, चार महिनामै ८४ हजारभन्दा बढी पुगे
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायत दुर्लभ वन्यजन्तु हेर्न पर्यटकको आकर्षण बढेसँगै निकुञ्जमा चहलपहलसमेत बढेको हो।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चार महिनाको अवधिमा ८४ हजार ५४ जना पर्यटकले निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन क्षेत्रको भ्रमण गरेका छन्। यो सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ हजार २१२ ले बढी हो।
चालु आवको उक्त अवधिमा ४५ हजार ३६८ नेपाली, सार्क मुलुकका तीन हजार ७८७ र अन्य मुलुकका ३४ हजार ८९९ पर्यटक निकुञ्ज पुगेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा भने कुल ६७ हजार ८४२ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए।
त्यतिबेला नेपाली पर्यटकको सङ्ख्या ३९ हजार ७०४, सार्क मुलुकका तीन हजार ३५२ र अन्य विदेशी पर्यटकको सङ्ख्या २४ हजार ७८६ थियो। तथ्याङ्कले स्वदेशी पर्यटकसँगै विदेशी पर्यटकको आगमनमा समेत वृद्धि भएको देखाएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्किएपछि घुमफिर गर्ने प्रवृत्ति बढ्नुका साथै विदेशी पर्यटकको चितवनप्रतिको आकर्षण कायम रहनुले निकुञ्जमा पर्यटक आगमन बढेको बताइएको छ।
पर्यटकको सङ्ख्या बढेसँगै निकुञ्जको आम्दानीसमेत बढेको छ। चालु आर्थिक वर्षको चार महिनामा निकुञ्जले विभिन्न शीर्षकबाट १० करोड छ लाख चार हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा पर्यापर्यटनबाट प्राप्त भएको छ। पर्यापर्यटनबाट मात्रै नौ करोड ७३ लाख १६ हजार ५०० रुपैयाँ राजस्व उठेको निकुञ्जले जनाएको छ।
यसैगरी गैरकाष्ठ वन पैदावार बिक्रीबाट १८ लाख १३ हजार १८१ रुपैयाँ, अन्य शीर्षकबाट १२ लाख ३२ हजार ७०० रुपैयाँ, दण्ड सजायबाट दुई लाख १३ हजार ३०० रुपैयाँ तथा काठ र दाउरा बिक्रीबाट २८ हजार ६५५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
गत आर्थिक वर्षभरि चितवन राष्ट्रिय निकुञ्जले विभिन्न स्रोतबाट ३१ करोड एक लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
पर्यटक आगमन र पर्यापर्यटनबाट हुने आम्दानी बढ्दै जानुले चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका साथै नेपालको पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखिएको छ।
