‘नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने’
सिद्धार्थनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने बताएका छन् । दाङको घोराहीमा सूचना तथा सञ्चार, प्रविधिको विकासको नवीनतम् प्रयोग (कृत्रिम बौद्धिकता)सम्बन्धी कार्यक्रम शनिबार उद्घाटन गर्दै उनले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तिलाई देशमै उपयोग गर्नेबारे सबै पक्षले छलफल चलाउनुपर्ने बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले पर्यटन, पर्यावरण, कृषि, जलस्रोतलगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरी नेपाली श्रमबजारलाई यहीँ खपत हुने वातावरण सृजना गर्ने उनले जानकारी दिए । “नेपाली श्रमिकको श्रममूल्य नेपालमा कम रहेकाले विदेशिनुपर्ने बाध्यता रहेको छ,” मुख्यमन्त्री महराले भने, “नेपाली उत्पादनको वृद्धि र श्रममूल्य समयसापेक्ष बनाउन जरुरी देखिन्छ ।”
राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्धारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सबैले जोड दिन सुझाव दिए । रासस