अनुमतिबिना निषेधित क्षेत्रमा पर्यटक लैजान खोज्ने ट्रेकिङ कम्पनीलाई ५० हजार जरिवाना
काठमाडौं । पर्यटकलाई आवश्यक अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गराउन खोज्ने ट्रेकिङ कम्पनी र गाइडमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ।
विभागका अनुसार बेल्जियमका दुई पर्यटकलाई पदयात्राका लागि आवश्यक अनुमति नलिई डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजिएको थियो। यस क्रममा स्थानीय प्रशासनले दिएको निर्देशनसमेत उल्लंघन गरिएको पाइएको छ।
घटनाबारे जिल्ला प्रशासन कार्यालय डोल्पाले पत्राचार गरेपछि अध्यागमन विभागले अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो। विभागले उक्त कार्यमा संलग्न गरिमा भोयज ट्राभल टुर्स एन्ड ट्रेक्स प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
त्यसैगरी, घटनामा संलग्न गाइड अस्मिर भण्डारीको व्यावसायिक आचरण र पथप्रदर्शक इजाजतपत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गरी कानुनअनुसार कारबाही गर्न विभागले सम्बन्धित प्रदेश मन्त्रालयलाई पत्र पठाएको छ।
विभागले पर्यटकलाई निषेधित क्षेत्रमा लैजाँदा प्रचलित कानुन र अनुमति प्रक्रियाको अनिवार्य पालना गर्नुपर्नेमा जोड दिएको छ। आवश्यक स्वीकृतिबिना पर्यटकीय गतिविधि सञ्चालन नगर्न र नगराउन ट्रेकिङ व्यवसायी, गाइड तथा अन्य सरोकारवालालाई समेत सचेत गराइएको छ।
नेपालका विभिन्न हिमाली तथा संवेदनशील क्षेत्रमा विदेशी पर्यटकको आवागमनका लागि विशेष अनुमति आवश्यक पर्ने भएकाले पर्यटन व्यवसायीले नियमविपरीत गतिविधि गरे कानुनी कारबाही भोग्नुपर्ने विभागले स्पष्ट पारेको छ।
