दावा याङजुम शेर्पाको हिमालदेखि ‘नर्थ फेस’ र ‘रोलेक्स’ सम्मको यात्रा
टुरिजमफेस
काठमाडौं ।
ना गाउँ । यो दोलखाको हिमाली क्षेत्रमा पर्छ । यसलाई आरोहीको गाउँ भनेर पनि चिनिन्छ । यो गाउँका अधिकांश स्थानीय बासिन्दा विदेशी पर्यटकका सहयोगी बनेर जीविकोपार्जन गर्छन् । र, कतिपय हिमालमा झन्डा फहराएर विश्वभर आफूलाई चिनाइरहेका छन् । यीमध्येकी एक दावा याङजुम शेर्पा हुन् । सन् २००९ बाट हिमाल चढ्न थालेकी उनी पहिलो अन्तर्राष्ट्रिय महिला माउन्टेन गाइड पनि हुन् । इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड्स एसोसिएसन (आइएफएमजिए) को प्रमाणपत्र पाउने नेपाली मात्र होइन, एसियाकै पहिलो महिला समेत हुन् । ‘एसियाकै पहिलो अन्तर्राष्ट्रिय महिला गाइड भनेर चिनिन पाउनु मेरा लागि ठूलो उपलब्धि हो,’ ३४ वर्षीया दावाले भनिन्, ‘यही उपलब्धिले मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ ।’

दावाले पहिलोपटक २१ वर्षको उमेरमा सगरमाथा टेकेकी थिइन् र गत वैशाखमा चौथोपटक पुगिन् । उनले आठ हजार मिटर अग्ला संसारका १४ हिमालमध्ये १३ वटाको सफल आरोहण गरिसकेकी छन् । हिमालबाट सुरू भएको दावाको यो मेहनत र सफलताले उनलाई संसारका ठूला र चर्चित ब्रान्डहरूसँग जोडेको छ । उनी बहुराष्ट्रिय कम्पनी ‘द नर्थ फेस’ र ‘रोलेक्स’ को ब्रान्ड एम्बास्डर हुन् । नर्थ फेसले उनलाई पहिलोपटक सन् २०१८ मा नेपालका लागि ब्रान्ड एम्बास्डर नियुक्त गरेको थियो । त्यस्तै महँगा घडी उत्पादक रोलेक्सले सन् २०२१ मा उनलाई एम्बास्डर बनाएको हो । यी कम्पनीले प्रत्येक दुई वर्षमा एम्बास्डर नवीकरण गर्ने गर्छन् । ‘नेपालीका लागि यो अवसर निकै ठूलो कुरा हो । विश्व प्रसिद्ध ब्रान्डहरूसँग जोडिनु मेरा लागि कल्पनाबाहिरको कुरा थियो,’ दावाले भनिन्, ‘तर हिमालप्रतिको मेरो लगाव र कडा मेहनतलाई विश्वले हेरेको रहेछ ।’ सुरूमा उनको सगरमाथा चढ्ने मात्र धोको थियो । अनि नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) बाट तालिम लिइन् । केही समय पर्यटकको टोली लिएर उनी ट्रेकिङ (पदयात्रा) गइन् । सन् २००९ देखि दावा हिमाल आरोहण गर्न थालिन् । सुरूमा पाँच हजार मिटर उचाइ आसपासका हिमाल चढिन् । र, अनुभव बटुलिन् । यसपछि माउन्टेन गाइडको तालिमका लागि सोलुखुम्बूको खुम्बूस्थित क्लाइम्बिङ स्कुल पुगिन् । त्यो स्कुल अमेरिकी पर्वतारोही कन¥याड एंकरले स्थापना गरेका हुन् । ‘हिमाल चढ्नु कसैको सपना हुन्छ, कसैको रहर । कतिपय आरोहण निकै कठिन हुन्छन् । उनले भनिन्, ‘तर आरोहण सफल भएपछि दुःखपीडा सबै बिर्सिइन्छ । फेरि हिमालतिरै लागिन्छ ।’ दावालाई अहिलेसम्मको सबभन्दा कठिन यात्रा अन्नपूर्ण–१ को लाग्छ । यो हिमाल सन् २०२१ मा उनले अक्सिजनबिनै चढेकी थिइन् । हिउँपहिरो गइरहँदा सकिँदैन कि भन्ने डर थियो । तर सफल भइन् ।
