विराटनगरमा होटल सञ्चालकको कुटाइबाट एकजनाको मृत्यु
विराटनगर । विराटनगरमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले होटल सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १९ बैजनाथपुरमा होटल सञ्चालक ३५ वर्षीया लिलादेवी ऋषिदेव रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
डीएसपी बस्नेतका अनुसार शनिबार बेलुका होटल सञ्चालक महिला लिलादेवीले सोही ठाउँ बस्ने बैजनाथपुरका ५० वर्षीय बीरवल गोसाइलाई कुटपिट गरेकी थिइन् ।
कुटपिटपछि शनिबार राति बीरवल घर गएका थिएनन्, भोलिपल्ट बिहान बाहिरै सडकमा लडिरहेको देखिएपछि आफन्तले घरमा लगेका थिए ।
घरमा लगेको केही समयपछि उपचारका लागि कोशी अस्पताल ल्याएका थिए । तर, कोशी अस्पतालमा आइतबार नै उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी बस्नेतले बताए ।
‘मृतक अत्याधिक मदिरा सेवन गर्ने मान्छे रहेछन्, शनिबार होटल साहुनीले कुटी भनेर घरमा छोरीलाई भनेका रहेछन्,’ डीएसपी बस्नेतले भने,‘होटल सञ्चालकले पनि सामान्य विवादमा आफूले धकेलेको स्वीकार गरेकी छन् ।’
