विमान दुर्घटनावारे सांसदले सोधेको प्रश्नमा नियामक निकायको बोली बन्द !
काठमाडौं । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाँज दुर्घटना र असम्बन्धित व्यक्तिहरु विमानमा सवार भएको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ ।
बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुले बुधबारको दुर्घटनाबारे नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का अधिकारीलाई प्रश्न गरेका थिए ।
तर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सांसदहरुको प्रश्नमा बोल्न नमिल्ने जवाफ मात्रै दिएर पन्छिएका छन् ।
सौर्य एयरको विमान दुर्घटनामा इन्जिनियर, प्राविधि बाहेकका असम्बन्धित व्यक्ति र बच्चसमेत परेको भन्दै समितिका सभापति राजकिशोर यादवले महानिर्देशक अधिकारीमाथि प्रश्न गरेका थिए । तर अधिकारीले भने सरकारले छानबिन समिति गठन गरिसेकोले बोल्न नमिल्ने भनेर टारिदिए ।
‘घटना घटिसकेको छ, सरकारले छानबिन आयोग गठन गरिसकेको छ । यसमा हामी सबै अनुसन्धानको दायरामा छौँ,’ अधिकारीले भने, ‘आयोगले सत्य तथ्य छानबिन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन ।’
बुधबार काठमाडौंबाट सी चेकका लागि पोखरा उडेको सौर्य एयरको विमान बिहान सवा ११ बजे दुर्घटना हुँदा एक बच्चासहित १८ जनाको मृत्यु भएको छ । घाइते अवस्थामा उद्दार गरिएका पाइलटको भने उपचार भइरहेको छ ।
