नेपाली सडकमा ईभीको दौड : चीन अगाडि, भारत पछाडि
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार तीव्र गतिमा विस्तार भइरहँदा नेपाली सडकमा चिनियाँ र भारतीय सवारी उत्पादकबीचको प्रतिस्पर्धा पनि स्पष्ट देखिन थालेको छ । सरकारी तथ्यांकअनुसार नेपालमा नयाँ भित्रिने साना तथा मझौला सवारीसाधनमध्ये करिब ७६ प्रतिशत हिस्सा विद्युतीय सवारीले ओगटेको छ ।
नेपालको परम्परागत पेट्रोल तथा डिजेल सवारी बजारमा भारतको बलियो पकड रहे पनि ईभीतर्फ भने तस्वीर फरक छ । चीनमा विश्वकै ठूलो परिमाणमा विद्युतीय सवारी उत्पादन हुनु, चिनियाँ ब्रान्डहरूको विविध मोडल उपलब्ध हुनु र नेपाल–चीन व्यापारिक सम्बन्ध विस्तार हुनुले नेपाली ईभी बजारमा चीनको प्रभाव बढाएको देखिन्छ ।
भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार नेपालले कुल २९ अर्ब ६९ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी आयात गरेको छ । त्यसमध्ये चीनबाट मात्रै २१ अर्ब ४५ करोड रुपैयाँ र भारतबाट ५ अर्ब ६३ करोड रुपैयाँ बराबरका ईभी आयात भएका छन् ।
यस आधारमा नेपालको कुल ईभी आयातमा चीनको हिस्सा करिब ७२.२५ प्रतिशत पुगेको छ भने भारतको हिस्सा १८.९६ प्रतिशत छ । बाँकी हिस्सा अन्य मुलुकबाट आएका विद्युतीय सवारीले ओगटेका छन् । अर्थात्, नेपाली ईभी बजारमा चीन भारतभन्दा झन्डै चार गुणा ठूलो आपूर्तिकर्ताका रूपमा देखिएको छ ।
ब्रान्डको विविधतामा पनि चीन अगाडि
नेपाली बजारमा बीवाईडी, एमजी, डोङफेङ, ओमोडा, किङलङलगायत चिनियाँ उत्पादन वा चिनियाँ स्वामित्वका ब्रान्डहरूको उपस्थिति उल्लेख्य छ । साइमेक्स इंक, पारामाउन्ट मोटर्स, पूजा इन्टरनेशनल, सीजी मोटर्स र एमएडब्लू वृद्धिजस्ता कम्पनीमार्फत यी ब्रान्डले नेपाली बजार विस्तार गरिरहेका छन् ।
भारततर्फ भने टाटाका विद्युतीय गाडीले उल्लेख्य बजार बनाएका छन् । टाटाका ईभीको आधिकारिक विक्रेताका रूपमा सिप्रदी ट्रेडिङले बजार विस्तार गरिरहेको छ । टाटाका नेक्सन, टियागो, पन्चलगायतका मोडलले नेपाली उपभोक्तामाझ आफ्नो स्थान बनाएका छन् ।
यसले नेपाली ईभी बजारमा दुई छिमेकी मुलुकको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । चीनले धेरै ब्रान्ड, मोडल र मूल्य तहमा विकल्प दिइरहेको छ भने भारतले लामो समयदेखि स्थापित अटोमोबाइल बजार, बिक्रीपछिको सेवा र सहज स्पेयर पार्ट्स उपलब्धताको बलमा प्रतिस्पर्धा गरिरहेको छ ।
चार्जिङ पूर्वाधारमा पनि चिनियाँ प्रभाव
ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार पनि महत्वपूर्ण प्रतिस्पर्धाको क्षेत्र बनेको छ । नेपालमा प्रयोग हुने चार्जिङ प्रविधिमा चीन र भारतबाट आयातित सवारीअनुसार फरक मापदण्ड देखिन्छ ।
चीनमा उत्पादित धेरै ईभीमा जीबी–टी मानक प्रयोग हुने गरेको छ भने भारतलगायत अन्य बजारबाट आउने सवारीमा सीसीएस–२ मापदण्ड प्रचलित छ । यसका कारण नेपालमा चार्जिङ नेटवर्क विस्तार गर्दा दुवै प्रविधिलाई समेट्नुपर्ने अवस्था छ ।
नेपाल विद्युत् प्राधिकरणले प्रमुख राजमार्ग तथा सहरहरूमा स्थापना गरेका ६२ वटा फास्ट डीसी चार्जिङ स्टेसनको आपूर्ति तथा जडानमा चिनियाँ कम्पनीहरूको सहभागिता रहेको छ । निजी क्षेत्रबाट पनि बीवाईडी, एमजी र ओमोडालगायत ब्रान्डले आफ्ना ग्राहकलाई लक्षित गर्दै उच्च क्षमताका चार्जिङ स्टेसन विस्तार गरिरहेका छन् ।
अर्कोतर्फ, टाटाका विद्युतीय सवारीको बजारलाई लक्षित गर्दै सिप्रदीले काठमाडौं, पोखरा, चितवन तथा तराईका प्रमुख सहरमा एसी र डीसी चार्जिङ पूर्वाधार विस्तार गरेको छ ।
सरकारी नीतिले ईभी बजारलाई थप बल
नेपाल सरकारले पेट्रोल तथा डिजेल सवारीको तुलनामा विद्युतीय सवारीलाई कर तथा भन्सारमा तुलनात्मक सहुलियत दिँदै आएको छ । प्रदेश सरकारहरूले पनि दर्ता शुल्क तथा वार्षिक सवारी करमा छुटजस्ता सुविधा उपलब्ध गराउँदै आएका छन् ।
यही नीतिगत प्रोत्साहन, पेट्रोलियम पदार्थको बढ्दो लागत, वातावरणीय चासो र ईभीको सञ्चालन खर्च तुलनात्मक रूपमा कम हुनुका कारण नेपाली उपभोक्ताको रोजाइ विद्युतीय सवारीतर्फ सर्दै गएको छ ।
तर बजार विस्तारसँगै चार्जिङ पूर्वाधारको समान पहुँच, ब्याट्रीको आयु तथा पुनःबिक्री मूल्य, स्पेयर पार्ट्स, मर्मतसम्भार र बिक्रीपछिको सेवाको गुणस्तरजस्ता विषय अझै चुनौतीका रूपमा छन् ।
समग्रमा हेर्दा नेपाली ईभी बजारमा चीनले अहिले स्पष्ट अग्रता लिएको छ । आयातको हिस्सा, ब्रान्डको विविधता र चार्जिङ पूर्वाधारमा बढ्दो लगानीले चिनियाँ प्रभाव बलियो देखाउँछ । भारत भने टाटाजस्ता स्थापित ब्रान्ड, सेवा सञ्जाल र नेपाली बजारसँगको पुरानो व्यापारिक सम्बन्धका आधारमा आफ्नो हिस्सा विस्तार गर्ने प्रयासमा छ ।
ईभीको माग आगामी वर्षहरूमा अझ बढ्दै जाने हो भने चीन–भारतबीचको प्रतिस्पर्धा केवल गाडी बिक्रीमा सीमित रहने छैन । चार्जिङ नेटवर्क, प्रविधि, ब्याट्री, मूल्य, बिक्रीपछिको सेवा र उपभोक्ता विश्वासमा हुने प्रतिस्पर्धाले नेपाली विद्युतीय यातायातको आगामी दिशा निर्धारण गर्नेछ ।
