वायुसेवा निगमका तीन जहाज ग्राउण्डेड, निगममा किन यस्तो भइरहन्छ ?

टुरिजमफेस
काठमाडौं । नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड भएका छन् । निगमसँग भएका चार जहाजमध्ये ३ वटा ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका छन् । निगमको व्यवस्थापन चुस्त नहुँदा पटकपटक जहाज ग्राउन्डेड हुँदै आए पनि अझै सुधारको छनक देखिएको छैन । निगमको न्यारोबडी ग्राउण्डेड हुँदा हङकङ, दोहा र दुबईमा हुने उडान रोकिएका छन्, जसले गर्दा ती गन्तव्यमा जान टिकट लिइसकेका यात्रु अलपत्र परेका छन् । निगम व्यवस्थापनले न्यारोबडी जहाजको हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडानहरु रद्ध भएको जनाएको छ । हाइड्रोलिकमा समस्या देखिएसँगै नागरिक उड्डयन प्राधिकरणले जहाजलाई ग्राउण्डेड गराएको हो । ग्राउन्डेड गरिएको न्यारोबडी ‘सगरमाथा’ ले १५६ यात्रु बोक्ने गर्छ ।
निगमका प्रवक्ता रमेश पौडेलले काठमाडौंबाट हङकङ उड्ने जहाज ग्राउण्डेड भएपछि यात्रुहरूलाई ¥याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रबन्ध मिलाइएको बताए । निगमसँग न्यारोबडी र वाइडबडी विमान दुई–दुई वटा रहेका छन् । तर एउटा वाइडबडी विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीमा रहेको छ । अर्को वाइडबडी पनि ‘सी–चेक’ कै लागि बुधबार इटाली पठाइएको छ । पौडेलले न्यारोवडी जहाजमा देखिएको समस्या अल्पकालीन रहेको भन्दै चाँडै समाधान हुने दावी गरे । उनले अन्य अन्तर्राष्ट्रिय उडानहरूमा पनि जहाज ग्राउण्डेड हुने तर समस्या भए पनि धेरै जहाज हुँदा उडान प्रभावित नहुने बताए । ‘धेरै जहाज भएका कम्पनीमा एक दुई वटा जहाजमा समस्या आउँदा कुनै समस्या पर्दैन,’ उनले भने, ‘तर वायुसेवा निगमसँग जहाजको कमीको कारण समस्या आयो ।