एनसेलले पायो ५ वर्षको नवीकरण

टुरिजमफेस
काठमाडौं । निजी दूरसञ्चार कम्पनी एनसेलले पाँच वर्षका लागि सञ्चालन अनुमतिपत्र (लाइसेन्स) पाएको छ । सरकारले सर्तसहित एनसेलको लाइसेन्स नवीकरण गरेको हो । मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको हो । लाइसेन्स नवीकरण भएको दूरसञ्चार प्राधिकरणको पत्र एनसेलले बुझेको छ । एनसेलको लाइसेन्सको म्याद १६ भदौमा सकिएको थियो । प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रूपैयाँ बुझाएको थियो । उनले एनसेलले पहिलो किस्ताबापत १ अर्ब र गत जेठमा ४ अर्ब गरी यो वर्षको नवीकरण शुल्क ५ अर्ब भुक्तानी गरेपछि पाँच वर्षका लागि लाइसेन्स नवीकरण पाएको बताउँदै अब एनसेलले प्रत्येक वर्ष भदौ १५ भित्र नवीकरण दस्तुर बापत ५ अर्ब र १० प्रतिशत बराबर ब्याज तिर्नपर्ने बताए । एकमुष्ट नवीकरण दस्तुर तिर्न नसक्ने भन्दै एनसेलले यसअघि किस्ताबन्दी सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो । एनसेलले नवीकरण दस्तुरबापत प्रत्येक पाँच वर्षमा २० अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ ।