राष्ट्रियस्तरको ‘कोडिङ कम्पिटिसन’ को तयारी, यसरी हुन सकिन्छ सहभागी

टुरिजमफेस
काठमाडौं । बालबालिकाका लागि राष्ट्रियस्तरको ‘कोडिङ कम्पिटिसन २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
डिस्कभरी एजुकेसन नेटवर्क युके र एडुटेकको सहयोगमा यस्तो कम्पिटिसन हुन लागेको हो । यसमा सहभागी हुन सेप्टेम्बर १९ सम्म अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् ।
कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष) का विद्यार्थीहरूलाई लक्षित गर्दै कम्पिटिसन हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी दिए । कोडिङ कम्पिटिसनले विद्यार्थीमा क्रिटिकल थिङ्किङ र प्रब्लम सल्भिङ स्किललाई बढाउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।
नेपालमा यो कार्यक्रमलाई सफल पार्न एनपिसर्ट, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन, रोटरी क्लब अफ याला, वनकभर प्रालि, आइसिटी फ्रेम डटकम, टेक एन्टरप्रेनियर्स एसोसिएसन नेपाल, टेक ब्लगर्सलगायतका संस्थाले सहयोग गर्दैछन् ।
आयोजकका अनुसार कम्पिटिसनमा सहभागी हुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव गर्नुपर्छ । यसपछि दूरशिक्षाका प्रशिक्षकहरूले डिसकभरी एजुकेसन कोडिङ प्लेटफर्ममार्फत कसरी परियोजना बनाउने भन्नेबारे वेबिनारमार्फत निःशुल्क सिकाउनेछन् । योसँगै विद्यार्थीले आफ्नो थिममा केन्द्रित हुँदै परियोजना अनलाइनबाट पठाउनुपर्ने आयोजकले जनाएको छ ।
अनलाइनमार्फत संकलन गरिएका परियोजनामध्येबाट उत्कृष्ट परियोजनाहरूबीच प्रतिस्पर्धा हुनेछ र मेन्टरको निर्देशन र सल्लाह अनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडरहरूले कुनै एक थिममा आधारित भएर परियोजना तयार पारी पठाउनुपर्ने बताइएको छ ।
यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरी एजुकेसन नेटवर्कमार्फत सहभागिताको प्रमाणपत्र पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् । र, नेपाल विजेताले ट्याबलेट, ५० हजार रूपैयाँ सहित ग्लोबल एक्सपोजर पाउनेछन् भने दोस्रो हुनेले २५ हजार रूपैयाँ र अन्य उपहारहरू प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै नेपाल विजेताले भारतीय विद्यार्थीहरूसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउनेछन् र त्यस प्रतिस्पर्धामा जित हासिल गर्न सके बेलायतको डिस्कभरी एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुनेछन् । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सिएसआरआइ) का अध्यक्ष प्रा.डा. सुवर्ण शाक्यले यस प्रतिस्पर्धाले बालबालिकालाई कोडिङ सीपमार्फत समस्या समाधान गर्न प्रेरित गर्ने बताए ।
उनले कोडिङको यो प्रतियोगिताले बालबालिकालाई सीप र क्षमताको विकास हुनुका साथै समस्याहरू कसरी समाधान गर्ने भनेर प्रेरित गर्ने पनि बताए । नेपाल प्रहरीका पूर्व डीआईजी एव एनपिसर्टका सल्लाहकार डाक्टर राजीव सुब्बाले प्राविधिक सीपले मात्र विद्यार्थीलाई सशक्त बनाउने बताउँदै यस्ता प्रतिस्पर्धाले युवाहरूको सोच र व्यवहारलाई आकार दिने बताए ।
‘यसले युवाहरूको सोच र व्यवहारलाई आकार दिई व्यक्तित्व विकासमा धेरै सहयोग गर्छ,’ उनले भने । यस्तै वनकभर प्राइभेट लिमिटेडका कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीको विश्वस्तरीय कोडिङ प्रतियोगिताले नेपाली विद्यार्थीलाई प्रविधिसँग नजिक्याउने मात्रै नभइ डिजिटल विश्वमा प्रतिस्पर्धी बनाउन सघाउ पु¥याउने बताए ।
‘प्रतियोगिताले नेपाली विद्यार्थी, प्रविधिसँग नजिक्याउक्छ र डिजिटल विश्वमा प्रतिस्पर्धी बनाउन सघाउ पु¥याउँछ,’ अधिकारीले भने । नेपाल टेक ब्लगर एसोसिएसनका संस्थापक रितेश घिमिरेले बाल कोडिङ प्रतियोगिताले प्राविधिक सीपलाई फस्टाउने र युवा मनलाई आइटी उद्योगका लागि तयार बनाउने बताए ।
टेक आन्टरप्रेनियर्स एसोसिएसन अफ नेपालका संस्थापक निर्देशक पदमराज पन्तले कोडिङ प्रतियोगिताले बचपनदेखि नै उद्यमी सोच विकास गर्ने बताउँदै यसबाट भविष्यका नवप्रवर्तकहरूको बाटो खोल्ने बताए ।
रोटरी क्लब अफ यलका सेवा निर्देशक डा. दिनेशलाल श्रेष्ठले यसले युवाहरूको सीप उजागर गरी प्रतिभालाई प्रष्फुटन गराउने बताए । सहभागिताका लागि यहाँ क्लिक गर्न सकिनेछ ।